काठमाडौं- नाबालिग किशोरीमाथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको ४ दिन बित्दा पनि अभिनेता पल शाह फरार छन्। उनलाई पक्रन नसकेको प्रहरीले यतिबेला भने पल निकटहरूलाई बोलाउँदै सोधपुछ गर्दै छोडिरहेको छ। तैपनि पललाई पक्रन सफल हुने अवस्थामा प्रहरी पुगेको छैन।
४ दिनअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि प्रहरीले लगत्तै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। पक्राउ पुर्जीलाई देशभर सर्कुलर जारी गरेको प्रहरीले पल तत्काल पक्राउ पर्ने दाबी त्यतिबेलै गरेको थियो।
प्रहरीका अनुसार पक्राउ पुर्जी जारी गरेको दिन नै पक्राउ नपरेपछि पल आफैँ आउने आशामा पनि प्रहरी थियो। तर उनले अनुसन्धानलाई सहयोग नगर्ने, बरु आफ्ना फ्यानलाई 'इमोसनल' बनाउने गरी फेसबुकमा स्टाटससहित अडियो पोस्ट गरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको थियो।
'भागेर उसले गल्ती गरिरहेको छ। आफैँ आउला भन्ने सोचाइमा हामी थियौँ। तर ऊ आएन,' महानगरीय प्रहरी परिसर स्रोतले भनेको छ, 'यसरी त उसलाई झन् अप्ठेरो पर्छ। हामीले खोजी बढाएका छौँ। उसँग निकट भएका व्यक्तिहरूलाई सोधपुछ गरिरहेका छौँ।'
शनिबार फिल्म 'म यस्तो गीत गाउँछु-२' का निर्देशक सुदर्शन थापालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो। यो फिल्ममा पलले अभिनय गरेका छन्। पलाई लुकाउन थापा संलग्न हुन सक्ने आशंकामा उनलाई सोधपुछ गरिएको थियो। यस्तै मोडल विजय पुनसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ। कविता राय महानगरीय अपराध महाशाखामा सोधपुछ गरिएको छ।
'भागेर उसले गल्ती गरिरहेको छ। आफैँ आउला भन्ने सोचाइमा हामी थियौँ। तर ऊ आएन,' महानगरीय प्रहरी परिसर स्रोतले भनेको छ, 'यसरी त उसलाई झन् अप्ठेरो पर्छ। हामीले खोजी बढाएका छौँ। उसँग निकट भएका व्यक्तिहरूलाई सोधपुछ गरिरहेका छौँ।'
गायक नरेश जोगी र हाम्रो टिम नेपालका विमल पन्तलगायतसँग पनि प्रहरीले सोधपुछ सकेको छ। पन्त र जोगीलाई सिंहदरवार प्रहरी वृत्तमा सोधपुछ गरिएको छ। यी सबै पल निकटका मानिन्छन्।
त्यसो त पल विरुद्धका व्यक्तिलाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ। पलले बिहीबार पोस्ट गरेको स्टाटसमा दुर्गेश थापालागयतले आफूलाई फसाउन षड्यन्त्र गरेको आरोप लगाएका थिए। त्यसपछि गायक दुर्गेश थापा लगायतसँग पनि प्रहरीले सोधपुछ गरेको थियो। सोधपछुको क्रमलाई प्रहरीले शनिबारसम्म जारी राखेको छ। सोधपछपछि सबैलाई छाड्ने गरिएको छ।