काठमाडौं- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसले फेब्रअरी १९ मा 'रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय लिइसकेको' बताएका थिए। अमेरिकी गुप्तचर निकायको सुझावलाई उद्धृत गर्दै बाइडेनले रुसी आक्रमणको निशाना युक्रेनको राजधानी किभ हुने दाबीसमेत गरेका थिए। तर, रुसी राष्ट्रपति भलादिमीर पुटिने भने त्यस्तो आक्रमणको कुनै योजना नबनाएकव र अनावश्यक हल्ला फैलाएको प्रतिक्रिया दिएका थिए।
त्यसको दुई दिनपछि उनै पुटिनले फेब्रुअरी २१ एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै युक्रेनको पृथकतावादीहरुले नियन्त्रण गरेका क्षेत्रहरु दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिए। रुसले युक्रेनका दुई राज्यहरुलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि विश्वभरका मुलुकहरुले चर्को आलोचना गरे।
ती आलोचनाहरुका बेवास्ता गर्दै पुटिनले २४ फेब्रुअरीमा चार करोड ४० लाख जनसंख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमणको घोषणा गरे।
रुसी सेनाहरु पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसंख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे।
रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले राजधानी किभ नजिकैको विमानस्थलमा कब्जा गरेको छ। रक्षा मन्त्रालयका अनुसार उक्त विमानस्थल कब्जा गर्नका लागि करिब २०० हेलिकोप्टर र ल्यान्डिङ फोर्सहरु प्रयोग गरिएका थिए। त्यसैगरी किभमा पश्चिमी क्षेत्रबाट पूर्ण रोक लगाइएको छ।
पुटिनको पहिलो निशाना बाइडेनले भनेजस्तै युक्रेनको राजधानी किभमा भयो। रुसी सेनाले किभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित युक्रेनका सहरनजिकै अवस्थित विमानस्थल र सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण गर्यो। त्यसपछि ट्यांक र सैनिकहरू पूर्वोत्तर युक्रेनभरि प्रवेश गरे।
रुसी सेनाहरु पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसंख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे।
आक्रमणको घोषणा गर्ने क्रममा राष्ट्रपति पुटिनले भनेका थिए, 'युक्रेनबाट लगातार भइरहेको खतराका कारण रुसले 'सुरक्षित, विकसित र अस्तित्वमा रहेको' महसुस गर्न सकिरहेको छैन। युक्रनेमा दुर्व्यवहार र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउनु हाम्रो मुख्य लक्ष्य हो। उनले युक्रेन नेटोमा सामिल हुन लागेको भन्ने भयका कारण आक्रमण गरेको बताइएको छ।
के चाहन्छन् पुटिन?
राष्ट्रपति पुटिनले आंशिक रूपमा नेटोको पूर्वतर्फको विस्तारलाई आक्रमणको कारणको रूपमा दोष दिएका छन्। युक्रेनले नेटोमा सामेल हुनको लागि उपयुक्त समय पर्खिरहेको छ।
रुसी उपविदेशमन्त्रीले युक्रेन कहिल्यै नेटोको सदस्य नबनोस् भन्ने सुनिश्चित गर्नु आफ्ना लागि अनिवार्य भएको बताइसकेका छन्। गत वर्ष राष्ट्रपति पुटिनले रुसी र युक्रेनीहरूलाई 'एउटै राष्ट्र' भनेर वर्णन गर्दै लामो लेखसमेत लेखेका थिए।
उनले त्यसमा डिसेम्बर १९९१ मा भएको सोभियत संघको पतनलाई 'ऐतिहासिक रुसको विघटन' भनेर उल्लेख गरेका छन्। राष्ट्रपति पुटिनले आधुनिक युक्रेनलाई पूर्ण रूपमा कम्युनिस्ट रुसले बनाएको र अहिले पश्चिम नियन्त्रित कठपुतली राज्य भएको दाबी गरेका छन्।
राष्ट्रपति पुटिनले युक्रेन नेटोमा सामेल भएमा गठबन्धनले क्राइमियालाई पुनः कब्जा गर्ने प्रयास गर्न सक्ने पनि तर्क गरेका छन्। तर, रुस युक्रेनमा मात्र केन्द्रित छैन र उसले नेटोलाई सन् १९९७ भन्दा अघिको सीमामा फर्किनुपर्ने माग गर्दै आएको छ।
पुटिन सन् १९९७ देखि नेटो गठबन्धनमा सामेल भएका सदस्य राष्ट्रले आफ्ना सेना र सैन्य पूर्वाधार हटाउन तथा 'रुसको सिमानानजिक घातक हतियारहरू' तैनाथ नगरून् भन्ने चाहन्छन्। ती भनेका मध्य र पूर्वी युरोप तथा बाल्टिक क्षेत्र हुन्।
राष्ट्रपति पुटिनको दृष्टिमा पश्चिमले सन् १९९७ मा नेटोलाई 'पूर्वमा एक इन्च पनि विस्तार नगर्ने' भनेर प्रतिज्ञा गरेको थियो। तर उसले त्यस्तो विस्तार जारी राख्यो।
यद्यपि तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभसँग गरिएको वाचामा दुई जर्मनी एक हुने सन्दर्भमा पूर्वी जर्मनीलाई मात्र उल्लेख गरिएको थियो।
के गर्दैछन् पुटिन?
पुटिनले युद्ध रोक्ने कुनै संकेत गरेका छैनन्। शुक्रबार बिहान फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गरेका थिए। उनले राष्ट्रपति पुटिनलाई 'तत्काल आक्रमण रोक्न' आग्रह गरेका थिए। राष्ट्रपति म्याक्रोनले समकक्षी पुटिनलाई भने, 'युक्रेनमाथिको सैन्य कारबाही तत्काल रोक्नुहोस्। सैन्य कारबाही जारी राखेमा रुसले थप प्रतिबन्धहरुको सामना गर्नुपर्ने छ।'
तर, क्रेमलिनले भने दुई नेताबीच गम्भीर र खुलारुपमा संवाद भएको र राष्ट्रपति पुटिनले सैन्य कारबाहीको कारण विस्तारमा सुनाएको जनाएको छ। संवादहीन अवस्थामा पुगेको अवस्थामा म्याक्रोनले पश्चिमा मुलुकको प्रतिनिधिका रुपमा कुराकानी गरेका हुन्।
राष्ट्रपति म्याक्रोनले समकक्षी पुटिनलाई भने, 'युक्रेनमाथिको सैन्य कारबाही तत्काल रोक्नुहोस्। सैन्य कारबाही जारी राखेमा रुसले थप प्रतिबन्धहरुको सामना गर्नुपर्ने छ।'
त्यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि रुसी समकक्षीसँग कुराकानी गरेका छन्। राष्ट्रपति सीले पुटिनसँगको वार्तामा युक्रेन संकट समाधान गर्न आफूले सहयोग गर्ने बताएका हुन्। 'पूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको छ (र) चीन रुस र युक्रेनलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दछ। त्यसका लागि चीनले सहयोग गर्नेछ।'
जवाफमा पुटिनलाई हप्तौंको कूटनीतिक प्रयास असफल भएपछि युक्रेनमा सैन्य कारबाही सुरु गरेको बताएका छन्। राष्ट्रपति सीले पुटिनसँगको वार्तामा 'शीतयुद्धको मानसिकता त्याग्नु, सबै देशको उचित सुरक्षा चासोलाई महत्व दिनु र सम्मान गर्नु र वार्ताको माध्यमबाट सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा संयन्त्र बनाउनु" महत्त्वपूर्ण रहेको बताएका छन्।
त्यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गर्दै हिंसालाई तत्काल रोक्न आग्रह गरेका थिए। प्रधानमन्त्री मोदीले कूटनीतिक समझदारी र वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्नेसमेत राष्ट्रपति पुटिनसँग आग्रह गरेका छन्। जवाफमा रुसी राष्ट्रपतिले आफूले सैन्य आक्रमण गर्नुको कारण र युक्रेनमा भइरहेको गतिविधिबारे जानकारी गराएका थिए।
त्यसैगरी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपतिको निर्णय 'स्मार्ट' भएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति जो बँइडेनको कदमको आलोचना गरेका छन्।
पश्चिमले के गर्न सक्छ?
नाटोले लडाकू विमान तयारी अवस्थामा राखेको भए पनि पश्चिमी साझेदारहरूले आफूहरूले सशस्त्र सैनिकहरू युक्रेनभित्र नपठाउने स्पष्ट पारिसकेका छन्।
त्यसको साटो उनीहरूले सल्लाहकारहरू, हतियारहरू र फिल्ड अस्पतालका लागि सहयोग गर्ने भनेका छन्। यसैबेला ५,००० नाटो सैनिकहरू बाल्टिक देश पोल्यान्डमा खटिएका छन्। थप ४ हजार सैनिकहरू रोमानिया, बल्गेरिया, हंगेरी र स्लोभाकियामा पठाइनेछ।
यद्यपि पश्चिमले रुसको अर्थतन्त्र, उद्योग र व्यक्तिहरूलाई निशानामा पारेको छ। ईयूले पुँजी बजारमा रुसी पहुँचलाई प्रतिबन्ध लगाउने र उसका उद्योगलाई नवीनतम प्रविधिमा जोड्ने प्रक्रियाबाट हटाउने प्रतिबद्धता व्यक्त गरेको छ।
ईयूले रुसले विद्रोही नियन्त्रित युक्रेनी क्षेत्रलाई मान्यता दिने कुराको समर्थन गर्ने ३५१ जना सांसदमाथि प्रतिबन्ध लगाइसकेको छ। जर्मनीले रुस र युरोपेली कम्पनीहरू दुवैको ठूलो लगानी भएको रुसको नोर्ड स्ट्रीम टू ग्यास पाइपलाइनको अनुमोदनलाई रोकिदिएको छ।
अमेरिकाले रुसी सरकारलाई पश्चिमी वित्तीय संस्थाबाट अलग गरिदिने र उच्च श्रेणीका 'कुलीनहरू'लाई लक्षित गर्ने बताएको छ। बेलायतले सबै प्रमुख रुसी बैंकहरूको सम्पत्ति रोक्का गर्ने बताएको छ। त्यसमा १०० व्यक्ति र संस्था लक्षित छन् अनि रुसको राष्ट्रिय ध्वजावाहक विमानलाई पनि ब्रिटेनमा अवतरण गर्न प्रतिबन्ध लगाइनेछ।
युक्रेनले आफ्ना साझेदारलाई रुसी तेल र ग्यास खरिद नगर्न आग्रह गरेको छ। तीनवटा बाल्टिक देशले अन्तर्राष्ट्रिय स्विफ्ट भुक्तानी प्रणालीबाट रुसी बैंकिङ प्रणाली विच्छेद गरिदिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।