बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लठ्ठी, ढुंगा अनि अमेरिका– गल्फर प्रतिमा शेर्पाको संघर्ष यात्रा

लठ्ठी, ढुंगा अनि अमेरिका– गल्फर प्रतिमा शेर्पाको संघर्ष यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रोयल नेपाल गल्फ क्लबको तेस्रो होलनजिकै रहेको सानो झुप्रोमा एउटा सानो परिवार बस्छ। तीन सदस्यीय परिवारकी सबैभन्दा कान्छी सदस्य हुन्, नेपालकी पहिलो प्रोफेसनल गल्फर प्रतिमा शेर्पा। 

सोही क्लबको कोर्समा हुर्के-बढेकी उनले सानैदेखि गल्फलाई राम्रोसँग चिन्ने मौका पाइन्। उनका आमा–बुवाको सोही गल्फ कोर्समा काम गर्दै गर्दा विवाह भएको थियो। गल्फ कोर्समा सँगै काम गर्दा चिनजान बढेपछि उनीहरूले त्यसलाई जीवनसाथीको सम्बन्धमा बदले। रोयल नेपाल गल्फ क्लबमा मजदुरका रूपमा काम गर्ने पासाङ शेर्पा र कल्पना छिरिङकी एक मात्र सन्तान हुन्, प्रतिमा।

प्रतिमाको पहिलो साथी बन्यो, गल्फ कोर्स। पहिले उनी अरूले गल्फ खेलेको हेर्थिन् । हेर्दा हेर्दै उनी काठको लठ्ठीले गल्फजस्तै गरी ढुंगालाई हुर्‍याउँथिन्। गल्फ खेलको मज्जा त्यसरी नै लिएकी हुन्, शुरुमा। 

पहिलो पटक काठको लठ्ठीले ढुंगामा हान्दा आएको आवाज अहिलेसम्म उनको कानमा गुञ्जिरहेको छ रे! त्यसपछि विस्तारै गल्फ बलसँग खेल्न थालिन्। गल्फ खेलाडीले कोर्टमा फालेका र हराएका बलहरू खोज्दै आफूले खेलको अनुभूति लिन्थिन्। बललाई प्रहार गर्ने लठ्ठी भने उही काठको हुन्थ्यो। 
 

‘सामान्य परिवारकी मैले यस्तो महँगो खेलमा अभ्यस्थ हुन एक पैसा खर्च गर्नुपरेन। मनैदेखि चाहेको काम गर्न मात्र कदम चाल्नूस्, कुनै अवरोध हुने छैन ।’


जब उनी ११ वर्षकी भइन्, साँच्चै गल्फ खेल्न थालिन्। घरनजिकको गल्फ क्लबले साना खेलाडीका लागि कार्यक्रम चलाएपछि उनले पनि अवसर पाइन् । ‘एक जना प्रशिक्षकले ममा यो खेलका लागि प्राकृतिक प्रतिभा भएको कुरा बताउनुभयो र मलाई आफ्नो समूहमा राख्नुभयो,’ उनले सम्झिइन्, ‘अनि मलाई पुराना लठ्ठी दिन भन्नुभयो।’ 

प्रशिक्षण सकेको केही महिनामै उनले ‘एमेच्योर’ प्रतियोगिता जितिन्। उनको जितको सिलसिला त्यसपछि लगातार चल्यो । सानो उमेरमै लगातार उपाधि जित्न थालेपछि स्वदेशी मात्र नभएर विदेशी सञ्चारमाध्यममा पनि उनको चर्चा चुलियो। 

‘गल्फ डाइजेस्ट’ नामक प्रतिष्ठित पत्रिकाले उनीबारे लेख छाप्यो। त्यो नै उनको भाग्य खोल्ने ढोका बन्यो। अमेरिकाका विश्व नम्बर एक गल्फर टाइगर उड्स आफैंले प्रतिमालाई व्यक्तिगत सन्देश पठाए। टाइगर उड्स प्रतिमाका रोल मोडेल थिए।


ईएसपीएनद्वारा बनाइएको आफ्नो जीवनबारेको डकुमेन्ट्रीको प्रिमियर हेर्न बोलाइएकी प्रतिमालाई त्यहाँ भव्य स्वागत गरियो। जहाँ उनले आफ्नो साक्षात रोलमोडेल भेट्ने मौका पाइन्। त्यति मात्र होइन, प्रतिमालाई पहिले टाइगर उड्सले नै सम्बोधन गरे। उनी भन्छिन्, ‘भेट्नासाथ उहाँले नै हाई प्रतिमा भन्नुभयो। त्यो मेरा लागि सबैभन्दा खुशीको क्षण थियो।’ 

त्यसपछि उनी टाइगर उड्ससँगै कोर्टमा पुगिन् अनि सट हानिन् । प्रशिक्षणका क्रममा उड्सले स्विङ राम्रो भएकाले मानसिक रूपमा बलियो हुन सुझाव दिएको उनी बताउँछिन्। 

‘टाइगर उड्सलाई भेटेर मेरो सपना पूरा भयो। एकदमै खुशी लाग्यो किनकि यो मेरो मात्र नभएर नेपालको गल्फ परिवारका लागि पनि खुशीको कुरा हो,’ उनी भन्छिन्। ३० मिनट लामो छलफलपछि उड्सले इमेलमार्फत् भने, ‘मैले उनको कथा हेरें। मलाई अचम्म लाग्यो। उनलाई भेट्नु पे्ररणादायी कुरा थियो।’

यस वर्ष दोस्रो पटक अमेरिका पुगेकी थिइन्, प्रतिमा। एक साता अमेरिका बसेकी उनले गल्फबारे धेरै सिक्ने मौका पाइन् । भन्छिन्, ‘त्यहाँको जस्तो प्रशिक्षण यहाँ छैन, खेल्नचाहीं हामी पनि खेल्छौं। यहाँ प्रशिक्षण गर्ने ठाउँ पनि सानो छ। अमेरिका पुगेपछि कोर्स म्यानेजमेन्ट सिकिँदो रहेछ ।’ उनका अनुसार विभिन्न गोल कोर्समा खेल्दा स्कोर कसरी गर्ने भन्ने जानकारी पाइन्। 

प्रतिमा थप्छिन्, ‘उनीहरू रुटिनमा रहेर काम गर्छन्। हामी भने रुटिन बनाउँछांै तर त्यसलाई फलो गर्दैनौं।’

अरू अभिावककै जस्तो शुरुमा उनका आमा–बाले पनि सामान्य परिवारकी केटीले कसरी धनीहरूको खेल खेल्न सक्छिन् र भन्ने सोचेका थिए। अहिले घरमा ४० भन्दा बढी ट्रफी भित्र्याइसक्दा उनीहरू दंग छन्। 

उनी कम्तीमा दैनिक दुई घण्टा अभ्यास गर्छिन्। त्यसक्रममा मैदानबाहिरमा मानिसले उनको खेल हेरिरहेका हुन्छन्। ‘कहिलेकाहीं त बाँदरले बललाई अण्डा भन्ठान्छन् र टिपेर लैजान्छन्,’ उनी भन्छिन्। 

नेपाललाई विश्वसामु चिनाउने अठोट लिएकी प्रतिमालाई सानो छँदा बाबु-आमाले गल्फ नखेल्न आग्रह गरेका थिए। तर, उनले खेल्न छाडिनन्। लुकेरै भए पनि खेललाई निरन्तरता दिइन्। अहिले खुलेरै विश्वसामु खेलिरहेकी छन्, उनी। 

विश्वविख्यात खेलाडी टाइगर उड्स प्रतिमाका रोल मोडेल हुन्। उनकै प्रशिक्षणबाट प्रतिमा पनि गल्फ रुचाउने नेपाली युवा–युवतीकी रोल मोडेल बनेकी छन्, अहिले।

‘सामान्य परिवारकी मैले यस्तो महँगो खेलमा अभ्यस्थ हुन एक पैसा खर्च गर्नुपरेन,’ उनी भन्छिन्, ‘यसको मतलव तपाईंले मनैदेखि चाहेको काम गर्न मात्र कदम चाल्नूस्, कुनै अवरोध हुने छैन।’

उनको भनाइमा खेल्न इच्छुकहरूमा धैर्य हुनुपर्छ। ‘अनुभव लिनुपर्छ, एकैचोटी नतिजा आउँदैन,’ प्रतिमा भन्छिन्, ‘सबैलाई भन्न चाहन्छु गल्फमा भविष्य छ।’

आफ्ना कोच सचिन भट्टराईले आफूलाई धेरै साथ दिएको उनी बताउँछिन् । ‘मैले खेल्न शुरु गरेदेखि नै साथ दिनुभएको छ। गेमको कोच मात्रै नभएर उहाँ अभिभावकको रूपमा हुनुहुन्छ । पछिल्ला करिब सात वर्षमा हरेक काममा साथीजस्तै साथ दिनुभएको छ।’

वर्ष २०७४ मा नेपालमा सर्वाधिक उत्कृष्ट प्रदर्शन र चर्चा हासिल गर्न सफल रहेपछि उनी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत् ‘पिपुल्स च्वाइस अवार्ड’को मनोनयनमा समेत परेकी थिइन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।