काठमाडौं– जन्मेको डेढ वर्षमै आँखा नदेख्ने र कान नसुन्ने भएकी अमेरिकी लेखक तथा राजनीतिज्ञ हेलन केलर सधैं भन्ने गर्थिन्, ‘म उज्यालोमा एक्लै भन्दा अँध्यारोमा साथीसँग हिँड्न रुचाउँछु।’
भनिन्छ, यो दुनियाँ बोल्नेहरुको हो, अनि देख्नेहरुको हो। तर, हेलन यस्ती पात्र थिइन्, जसले कानले नसुनिकनै पनि यहाँ धेरै भनेर गइन्, आँखाले नदेखिकनै पनि धेरै हेरेर गइन्।
हेलन जीवनलाई एउटा विशाल ‘एडभेन्चर’ ठान्थिन्। भन्थिन्, ‘आफ्नो अनुहार सूर्यमा राख्नुहोस् र तपाईंले छाया कहिल्यै देख्नु हुनेछैन।’ संसारभर अहिले कैयौं मानिसत्रहरु छन् जो हेलनले खनिदिएको बाटोमा आफ्नो जीवनको उज्यालो खोजिरहेका छन्।
ललितपुर सातदोबाटोका सौरभ थापा (१३) यस्तै एक उदाहरण हुन्, जो न आँखा देख्छन्, न सक्छन् बोल्न र राम्रोसँग हिँड्न नै। तर, पनि स्पर्शका भरमा उनी मान्छे चिन्न खोजिरहेका छन्, हिँड्न खोजिरहेका छन्। कहिले झडङ्ग रिसाउँछन्, कहिले त्यसै मुस्कुराउँछन्।
खासै मान्छेहरुसँग नजिक हुन मान्दैनन् तर शैली खरेल भनेपछि हुरुक्कै हुन्छन्। तिनै शैली, जो दृष्टि र श्रवणशक्ति गुमाएका उनीजस्ता २९ जना पात्रहरुलाई संसार चियाउन सिकाइरहेकी छिन्।