काठमाडौं- नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (शुक्रबार) एक सूचना जारी गर्दै भारतसँग आउँदो सेप्टेम्बर दुई र पाँच तारिखमा खेल्ने जनाएको हो।
‘दुई मैत्रीपूर्णका लागि अहिले एन्फा र इन्डियन फुटबल फेडेसन (एआईएफएफ) सँग सहमति भएको छ’, एन्फाको सूचनामा उल्लेख छ।
नेपाली टिमले इन्डियन टिमसँग १९ पटक खेलेको छ। त्यसमा नेपाली टिममाथि भारत हाबी छ। उसले नेपाली टिमलाई १३ पटक हराएको छ।
नेपालले भारतलाई दुईपटक मात्र हराउन सफल भएको छ। नेपालले २०१३ मा काठमाडौंमा आयोजित साफ च्याम्पियनसिपमा भारतलाई २-१ गोलले हराएको थियो। जुन नेपालको भारतविरुद्ध पछिल्लो जित हो।
त्यस्तै नेपाल र भारतबीचका चार खेल भने बराबरी भएका छन्। अहिले दुवै राष्ट्रिय साफ च्याम्पियनसिपको तयारीमा छन्।
पछिल्लोपटक नेपालले भारतसँग २०१५ को मार्चमा दशरथ रंगशालामा खेलेको थियो। विश्वकप २०१८ को छनोटअन्तर्गतको त्यो खेलमा गोलरहित बराबरी भएको थियो।