बुधबार, असार ३१, २०८३

लुम्बिनी गुरुयोजना- ४० वर्ष वित्यो, अझै काम सकिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४० वर्ष बितिसक्दासमेत अधुरो छ । चार दशकमा ८० प्रतिशत मात्र काम भएको छ । 

सरकार र लुम्बिनी विकास कोषले गुरुयोजना २/४ वर्षमै पूरा हुने बताउन थालेको जुग बितिसक्यो । सरकारी घोषणा व्यवहारमा देखिन सकेको छैन । 

कोषका सदस्य-सचिवको समेत जिम्मेवारी सम्हालिरहेका योजना प्रमुख सरोज भट्टराईका अनुसार गुरुयोजनाको २० प्रतिशत काम अपूरो छ । बजेट अभावकै कारण अपेक्षाकृत काम हुन नसकेको कोषले बताउँदै आएको छ । 

गुरुयोजना सम्पन्न गर्न अझै ६ अर्ब रुपैयाँ आवश्यक छ । सरकारले आगामी आर्थिक वर्षका लागि जम्मा ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । 'अनि काम तोकिएको समयमा कसरी पूरा हुन्छ,' सदस्य-सचिव भट्टराई भन्छन् । 

गुरुयोजनाअनुसार विहार क्षेत्रमा सबैभन्दा बढी डेढ अर्ब खर्च भएको छ । १२ वटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा आकर्षक मानिने चिनियाँ र जर्मनीका विहार निर्माणका लागि दुवै मुलुकले ५२ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् । अर्को मुलुक थाइल्यान्डले १० करोड २५ लाख लागतमा विहार बनाएको छ । 

लुम्बिनीग्राम क्षेत्रमा एक अर्ब २७ लाखभन्दा बढी खर्च भएको छ । त्यस क्षेत्रमा निर्माण भएका होक्के र कासाई होटेलले ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख रुपैयाँ सहयोगमा निर्माण भएको छ । जापानी संस्था रेयुकाईले ३० करोड ८० लाख लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यस क्षेत्रमा अझै करिब तीन अर्ब लागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् । 

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ४० करोड रुपैयाँ लगानी भएको छ । त्यस क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख खर्च भएको छ । मायादेवी मन्दिर निर्माणका लागि सात करोड रुपैयाँ लागेको थियो । यस्तै, लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ । नहर निर्माणमा मात्रै २४ करोड रुपैयाँ खर्च भएको छ । 

बजेट आवश्यक छ ६ अर्ब, सरकारले छुट्यायो ५३ करोड मात्रै ।


कोषका अनुसार ४० वर्षअघि टाँगेले प्रस्ताव गरेको गुरुयोजनाअनुसार लुम्बिनीको प्रमुख भूभागको रूपमा रहेको तीन वर्गमाइलभित्र उद्यान, अन्तर्राष्ट्रिय विहार र लुम्बिनीग्राम गरी तीन वटा क्षेत्र समावेश छन् । त्यसलाई १/१ वर्गमाइलमा विभाजन गरी उत्तरतर्फ लुम्बिनीग्राम, दोस्रो खण्ड अन्तर्राष्ट्रिय विहार र गुम्बा क्षेत्र नामाकरण गरिएको छ । 

बाँकी एक वर्ग माइलको दक्षिणतर्फ पवित्र उद्यान नाम दिइएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तिमा पहिलो पाइला टेकेका थिए । लुम्बिनी ग्राममा विश्वशान्ति स्तुपा, उच्चस्तरीय आवासका लागि होक्के होटेल, सारस फाउन्डेसन, मध्यमस्तरीय होटेल कासाइ र श्रीलंकाको पिलग्रिमेज हाउस अवस्थित छन् ।

पर्सा-तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी संग्रहालय र बसपार्क तथा विकास कोषको कार्यालयसमेतका भाग छन् । विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूका लागि प्लटहरू छुट्याइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया र थाइल्यान्डले आ-आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् । 

पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मनीका सरकार तथा संस्थाहरूले पनि आ-आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तुपहरू तयार गरेका छन् । नहर तथा आन्तरिक सडकको दायाँ-बायाँपट्टि योजनाअनुरूप पंक्तिबद्ध ढंगले वृक्षारोपण गरिएको छ । केन्द्रीय नहरको दक्षिण र दक्षिण-पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् । 

सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैंचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाऊ, स्तुप र विहारका स्मारकहरू छन् । यो क्षेत्र विशेष संवेदनशील भएकाले वर्षाको बाढीबाट बचाउन वरिपरि चार वटा पोखरी बनाइएका छन् । तीन वर्गमाइलको बाहिरपट्टि बफरजोन र निषेधित क्षेत्र भए पनि व्यक्तिगत भवनहरू बनाइएको देखिन्छ ।

कोषका अनुसार गुरुयोजनाअन्तर्गत् १६ प्रकारका काम अझै हुन बाँकी छन् । पर्याप्त बजेट भएमा दुई वर्षभित्र अधुरा काम पूरा हुने कोषले जनाएको छ । 

सन् १९९७ मा विश्वसम्पदामा सूचीकृत भएको हो, लुम्बिनी । 'स्मार्ट सिटी'का रूपमा विकास गर्नेगरी सरकारले गृहकार्य थालेको छ । 

थप दुई गुरुयोजना

प्राध्यापक टाँगेको गुरुयोजना पूरा नहुँदै थप दुई गुरुयोजनाको विषयमा पनि अभ्यास हुन थालेको छ । कोरियाली प्राध्यापक डा. योङ हुन क्वाकले लुम्बिनी विश्वशान्ति ग्रामको गुरुयोजना तयार पारेका छन् । नेपाल सरकारले पनि रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी गुरुयोजनाको होमवर्क पनि गरिरहेको छ । 

गुरूयोजनाको कार्यान्वयन तथा सुपरिवेक्षणका लागि सन् १९७१ मा लुम्बिनी विकास समिति गठन गरियो । तर, कोषलाई राजनीतिक भर्ति केन्द्र बनाउँदा यसको काम प्रभावी देखिएको छैन । कोषमा अहिले पनि सदस्य-सचिव पद खाली छ । कर्मचारीहरू बारम्बार आन्दोलन गरिरहन्छन् । 

ईसापूर्व तेस्रो शताब्दीदेखि हालसम्म लाखौं धर्मालम्बी तथा पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । त्यतिबेला सम्राट अशोक आफ्ना गुरू उपगुप्तको नेतृत्वमा बुद्ध जन्मस्थल लुम्बिनी आएको तथ्य कुण्डलवदन तथा अशोकस्तम्भको अभिलेखले पुष्टि गरेका छन् । 

अभिलेखमा शाक्यमुनि भनी स्पष्ट रूपमा किटान गरिएको छ । अशोकले लुम्बिनीमा एक लाख असर्फी वितरण गर्नुका साथै एउटा चैत्यसमेत स्थापना गरेका थिए । मौर्य, शुंग, कुषाण र गुप्तकालमा पनि विभिन्न महानुभाव आएर विहार, मन्दिर वा स्तुपा निर्माण गर्ने र कलावस्तुहरू समर्पण गरी श्रद्धा प्रकट गर्दै आएका थिए । 

त्यतिबेलाका अवशेषहरू लुम्बिनीमा फेला परिसकेका छन् । चिनियाँ यात्रीहरूमध्ये पाँचौं र सातौं शताब्दीमा लुम्बिनी आएका सुई चिङ-चु, फाहियान र हु एन-साङले यहाँको वस्तुस्थिति र परिवेशबारे उल्लेख गरेका छन् । 

मायादेवीले स्नान गरेको पोखरी, उत्तरपट्टि २० पाइला हिँडेको र रूखको हाँगा समातेको जस्ता घटनाक्रम उनले फाहियान उल्लेख गरेका थिए । हु एन-साङले ऐनाजस्तो सफा फूल फूलेको स्नान तलाऊ (पुष्करिणी पोखरी), लडेको अशोकवृक्ष, स्तुप आदि देखेको विवरण यात्रा बृत्तान्तमा समावेश गरेका छन् । 

प्राप्त कलावस्तु एवं पुरावशेषहरूले प्राचीनकालदेखि पालसेनकलाको प्रभावसमेत रहेको पुष्टि गरेका छन् । पूर्व मध्यकालमा खसान प्रदेशका रिपु मल्ल यहाँ आई अशोकस्तम्भमा आफ्नो नाम उत्कीर्ण गराएका थिए । सिकन्दर लोदी (१४८९-१५१७) र औरंगजेव (१६६८-१७०७) को आक्रमणले कपिलवस्तु र देवदहमा जस्तै लुम्बिनीमा पनि विभिन्न कलावस्तु विनाश गरिएको तथ्य संस्कृतिविद् प्राध्यापक डा. गितु गिरी बताउँछन् । 

प्राध्यापक केन्जो टाँगेको गुरुयोजना अधुरै, प्राध्यापक योङ हुन क्वाक र नेपाल सरकारका गुरुयोजना कहिले होलान् पूरा ?


पाल्पाका बडाहाकिम खड्गशमशेरले स्थानीय बासिन्दाको सहयोगमा सन् १८९६ मा लुम्बिनी (पडेरिया) मा लडेको अशोकस्तम्भ खनाउँदै थिए । भारतको पुरातत्व विभागले खटाएका पुरातत्वविद् ए. फुहरर सोही वर्ष १ डिसेम्बरमा त्यहाँ आइपुगे । अशोकस्तम्भको अभिलेख प्रकाशमा आएपछि बुद्ध जन्मस्थल लुम्बिनी फेला परेको सनसनी विश्वमा चल्यो । 

उनी फर्केपछि पूर्णचन्द्र मुखर्जी आएर यहाँको विवरण सन् १९०१ मा प्रकाशन गरे । सन् १९३३-३९ बीच केशरशमशेरले मायादेवीको आसपास र पुष्करिणी तलाऊको उत्खनन् गरे । यस्तै, एनआर बनर्जी (१९६६-७२), बाबुकृष्ण रिजाल (१९७५-८३), तारानन्द मिश्र (१९८४-८५), जापान बौद्ध संघ, लुम्बिनी विकास कोष र पुरातत्व विभागको सक्रियता (१९९३-१९९७) मा यहाँ अन्वेषण तथा उत्खनन् गरिए । 

विश्वका शान्तिप्रेमी मानवको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरियो । राष्ट्रसंघको तीन सदस्यीय टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो । 

यसको विकासका लागि पाकिस्तान, श्रीलंका, भारत, म्यानमार, अफगानिस्तान, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, जापान, सिंगापुर र जापान आदि १३ मुलुकहरू सहभागी रहेको अन्तर्राष्ट्रिय लुम्बिनी विकास समिति गठन गरियो । यस समितिमा पछि भूटान र दक्षिण कोरियालाई थपी १५ सदस्यीय बनाइएको थियो ।

सन् १९८६ मा अन्तर्राष्ट्रिय शान्ति वर्षको स्मरणमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले लुम्बिनीमा विश्वशान्ति दीप प्रज्वलित गरेका थिए । अहिले यो दीप विश्वशान्तिको प्रतीकका रूपमा बलिरहेको छ ।  लुम्बिनीलाई सरकारले योजनाबद्ध विकास गर्न सकेमा पर्यटनमार्फत् नेपालमा बर्सेनि अर्बाैं रुपैयाँ आर्जन गर्न सकिन्छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।