कोषका अनुसार ४० वर्षअघि टाँगेले प्रस्ताव गरेको गुरुयोजनाअनुसार लुम्बिनीको प्रमुख भूभागको रूपमा रहेको तीन वर्गमाइलभित्र उद्यान, अन्तर्राष्ट्रिय विहार र लुम्बिनीग्राम गरी तीन वटा क्षेत्र समावेश छन् । त्यसलाई १/१ वर्गमाइलमा विभाजन गरी उत्तरतर्फ लुम्बिनीग्राम, दोस्रो खण्ड अन्तर्राष्ट्रिय विहार र गुम्बा क्षेत्र नामाकरण गरिएको छ ।
बाँकी एक वर्ग माइलको दक्षिणतर्फ पवित्र उद्यान नाम दिइएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तिमा पहिलो पाइला टेकेका थिए । लुम्बिनी ग्राममा विश्वशान्ति स्तुपा, उच्चस्तरीय आवासका लागि होक्के होटेल, सारस फाउन्डेसन, मध्यमस्तरीय होटेल कासाइ र श्रीलंकाको पिलग्रिमेज हाउस अवस्थित छन् ।
पर्सा-तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी संग्रहालय र बसपार्क तथा विकास कोषको कार्यालयसमेतका भाग छन् । विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूका लागि प्लटहरू छुट्याइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया र थाइल्यान्डले आ-आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् ।
पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मनीका सरकार तथा संस्थाहरूले पनि आ-आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तुपहरू तयार गरेका छन् । नहर तथा आन्तरिक सडकको दायाँ-बायाँपट्टि योजनाअनुरूप पंक्तिबद्ध ढंगले वृक्षारोपण गरिएको छ । केन्द्रीय नहरको दक्षिण र दक्षिण-पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् ।
सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैंचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाऊ, स्तुप र विहारका स्मारकहरू छन् । यो क्षेत्र विशेष संवेदनशील भएकाले वर्षाको बाढीबाट बचाउन वरिपरि चार वटा पोखरी बनाइएका छन् । तीन वर्गमाइलको बाहिरपट्टि बफरजोन र निषेधित क्षेत्र भए पनि व्यक्तिगत भवनहरू बनाइएको देखिन्छ ।
कोषका अनुसार गुरुयोजनाअन्तर्गत् १६ प्रकारका काम अझै हुन बाँकी छन् । पर्याप्त बजेट भएमा दुई वर्षभित्र अधुरा काम पूरा हुने कोषले जनाएको छ ।
सन् १९९७ मा विश्वसम्पदामा सूचीकृत भएको हो, लुम्बिनी । 'स्मार्ट सिटी'का रूपमा विकास गर्नेगरी सरकारले गृहकार्य थालेको छ ।
थप दुई गुरुयोजना
प्राध्यापक टाँगेको गुरुयोजना पूरा नहुँदै थप दुई गुरुयोजनाको विषयमा पनि अभ्यास हुन थालेको छ । कोरियाली प्राध्यापक डा. योङ हुन क्वाकले लुम्बिनी विश्वशान्ति ग्रामको गुरुयोजना तयार पारेका छन् । नेपाल सरकारले पनि रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी गुरुयोजनाको होमवर्क पनि गरिरहेको छ ।
गुरूयोजनाको कार्यान्वयन तथा सुपरिवेक्षणका लागि सन् १९७१ मा लुम्बिनी विकास समिति गठन गरियो । तर, कोषलाई राजनीतिक भर्ति केन्द्र बनाउँदा यसको काम प्रभावी देखिएको छैन । कोषमा अहिले पनि सदस्य-सचिव पद खाली छ । कर्मचारीहरू बारम्बार आन्दोलन गरिरहन्छन् ।
ईसापूर्व तेस्रो शताब्दीदेखि हालसम्म लाखौं धर्मालम्बी तथा पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । त्यतिबेला सम्राट अशोक आफ्ना गुरू उपगुप्तको नेतृत्वमा बुद्ध जन्मस्थल लुम्बिनी आएको तथ्य कुण्डलवदन तथा अशोकस्तम्भको अभिलेखले पुष्टि गरेका छन् ।
अभिलेखमा शाक्यमुनि भनी स्पष्ट रूपमा किटान गरिएको छ । अशोकले लुम्बिनीमा एक लाख असर्फी वितरण गर्नुका साथै एउटा चैत्यसमेत स्थापना गरेका थिए । मौर्य, शुंग, कुषाण र गुप्तकालमा पनि विभिन्न महानुभाव आएर विहार, मन्दिर वा स्तुपा निर्माण गर्ने र कलावस्तुहरू समर्पण गरी श्रद्धा प्रकट गर्दै आएका थिए ।
त्यतिबेलाका अवशेषहरू लुम्बिनीमा फेला परिसकेका छन् । चिनियाँ यात्रीहरूमध्ये पाँचौं र सातौं शताब्दीमा लुम्बिनी आएका सुई चिङ-चु, फाहियान र हु एन-साङले यहाँको वस्तुस्थिति र परिवेशबारे उल्लेख गरेका छन् ।
मायादेवीले स्नान गरेको पोखरी, उत्तरपट्टि २० पाइला हिँडेको र रूखको हाँगा समातेको जस्ता घटनाक्रम उनले फाहियान उल्लेख गरेका थिए । हु एन-साङले ऐनाजस्तो सफा फूल फूलेको स्नान तलाऊ (पुष्करिणी पोखरी), लडेको अशोकवृक्ष, स्तुप आदि देखेको विवरण यात्रा बृत्तान्तमा समावेश गरेका छन् ।
प्राप्त कलावस्तु एवं पुरावशेषहरूले प्राचीनकालदेखि पालसेनकलाको प्रभावसमेत रहेको पुष्टि गरेका छन् । पूर्व मध्यकालमा खसान प्रदेशका रिपु मल्ल यहाँ आई अशोकस्तम्भमा आफ्नो नाम उत्कीर्ण गराएका थिए । सिकन्दर लोदी (१४८९-१५१७) र औरंगजेव (१६६८-१७०७) को आक्रमणले कपिलवस्तु र देवदहमा जस्तै लुम्बिनीमा पनि विभिन्न कलावस्तु विनाश गरिएको तथ्य संस्कृतिविद् प्राध्यापक डा. गितु गिरी बताउँछन् ।
पाल्पाका बडाहाकिम खड्गशमशेरले स्थानीय बासिन्दाको सहयोगमा सन् १८९६ मा लुम्बिनी (पडेरिया) मा लडेको अशोकस्तम्भ खनाउँदै थिए । भारतको पुरातत्व विभागले खटाएका पुरातत्वविद् ए. फुहरर सोही वर्ष १ डिसेम्बरमा त्यहाँ आइपुगे । अशोकस्तम्भको अभिलेख प्रकाशमा आएपछि बुद्ध जन्मस्थल लुम्बिनी फेला परेको सनसनी विश्वमा चल्यो ।
उनी फर्केपछि पूर्णचन्द्र मुखर्जी आएर यहाँको विवरण सन् १९०१ मा प्रकाशन गरे । सन् १९३३-३९ बीच केशरशमशेरले मायादेवीको आसपास र पुष्करिणी तलाऊको उत्खनन् गरे । यस्तै, एनआर बनर्जी (१९६६-७२), बाबुकृष्ण रिजाल (१९७५-८३), तारानन्द मिश्र (१९८४-८५), जापान बौद्ध संघ, लुम्बिनी विकास कोष र पुरातत्व विभागको सक्रियता (१९९३-१९९७) मा यहाँ अन्वेषण तथा उत्खनन् गरिए ।
विश्वका शान्तिप्रेमी मानवको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरियो । राष्ट्रसंघको तीन सदस्यीय टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो ।
यसको विकासका लागि पाकिस्तान, श्रीलंका, भारत, म्यानमार, अफगानिस्तान, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, जापान, सिंगापुर र जापान आदि १३ मुलुकहरू सहभागी रहेको अन्तर्राष्ट्रिय लुम्बिनी विकास समिति गठन गरियो । यस समितिमा पछि भूटान र दक्षिण कोरियालाई थपी १५ सदस्यीय बनाइएको थियो ।
सन् १९८६ मा अन्तर्राष्ट्रिय शान्ति वर्षको स्मरणमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले लुम्बिनीमा विश्वशान्ति दीप प्रज्वलित गरेका थिए । अहिले यो दीप विश्वशान्तिको प्रतीकका रूपमा बलिरहेको छ । लुम्बिनीलाई सरकारले योजनाबद्ध विकास गर्न सकेमा पर्यटनमार्फत् नेपालमा बर्सेनि अर्बाैं रुपैयाँ आर्जन गर्न सकिन्छ ।

