मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा ८ स्रष्टा पुरस्कृत, विभिन्न व्यक्तित्वहरू अभिनन्दित

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा ८ स्रष्टा पुरस्कृत, विभिन्न व्यक्तित्वहरू अभिनन्दित

 |  सोमबार, असार २९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०८३

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले २१३औँ भानु जयन्तीको अवसरमा भाषा, कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने आठजना स्रष्टालाई पुरस्कृत गरेको छ। सोमबार धनगढीमा आयोजित एक भव्य कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो।

प्रतिष्ठानले 'प्रादेशिक प्रतिभा सम्मान' अन्तर्गत संस्कृति विधामा इन्द्रबहादुर चौधरी, गायन/संगीत तथा नाट्य विधामा ध्वज बहादुर महरा, साहित्य विधामा मिना पन्त र ललितकला विधामा योगेन्द्र बमलाई जनही ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ।

त्यसैगरी, साहित्यकार पूर्ण बहादुर मल्ल, गजलकार कमल संघर्ष, गायक सदानन्द (सौगात) ओझा र गुरुदास विश्वकर्मा (वसन्त साधक) लाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको प्रतिष्ठानका सदस्य सचिव सुरत रावत 'डोटेली कान्छा'ले जानकारी दिए।

पुरस्कृत स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री बेल बहादुर राना र विशिष्ट अतिथि आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले संयुक्त रूपमा दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए। सोही अवसरमा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. हेमराज पन्त, प्रा. . टेकराज पन्त र डा. दीपकचन्द्र भट्टलाई अभिनन्दन गरिएको थियो।

प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न समुदायका कलाकारहरूले सांगीतिक प्रस्तुतिसमेत राखेका थिए। प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमार्फत हरेक वर्ष भानु जयन्तीका अवसरमा प्रादेशिक भाषा, कला र साहित्यमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।

प्रकाशित: Jul 13, 2026| 22:11 सोमबार, असार २९, २०८३
प्रतिक्रिया दिनुहोस्