काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई 'डबल स्ट्यान्डर्ड' छोड्न सुझाव दिएका छन्। सरकारमा बसेर सरकारले त्याएको प्रस्तावकै विरोध गरेको भन्दै उनले दुवै दललाई त्यस्तो सुझाव दिएका हुन्।
आइतबार संसद्मा एमसीसी सम्झौता टेबल भएपछि थापाले गठबन्धन रहने नरहने विषयमा भन्न नसकिकने समेत बताए। 'अब यो प्रक्रिया अगाडि बढ्छ। यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन। सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने? यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ,' महामन्त्री थापाले भने, 'आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ।'
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर पत्र पठाउने तर नेपालमा भने यथास्थितिमा पारित गर्न नहुने निर्णय गराएको भन्दै विरोध भएको थियो।
महामन्त्री थापाले एमसीसी संसद्मा टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू एमसीसीकै पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गरे। संसदमा टेबल गर्न नै हुन्न भन्ने केही पार्टीहरु अहिले संसद्मा पेस गर्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै उनीहरू पारित हुने बेलासम्म एमसीसीकै पक्षमा मतदान गर्ने पक्षमा उभिने थापाले विश्वास व्यक्त गरेका हुन्।
बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ। छलफलपछि मतदानमार्फत एमसीसी टुंगो लाग्ने उनको भनाइ छ।