काठमाडौं– एमसीसी टेबुल गर्ने सत्तारुढ गठबन्धनको निर्णयमा माओवादीका तीन नेताले सहमति जनाएका छन्। प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले एमसीसी टेबुल गर्ने विषयप्रति असहमति जनाएका हुन्।
आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो। गठबन्धनको निर्णय अनुसार नै एमसीसी आजको प्रतिनिधिसभा बैठकमा टेबुल हुँदैछ। प्रतिनिधिसभा बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा माओवादी गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले असहमति पत्र दर्ज गराएका छन्।
‘राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनमा कुनै सुनिश्चितता पनि नभएको र संसद् पनि अवरुद्ध रहेकाले एमसीसी टेबुल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको व्यवहोरा अनुरोध गर्दछौं,’ तीन नेताले असहमतिपत्र मार्फत भनेका छन्। उनीहरुले एमसीसीमा राष्ट्रिय सहमति जुटाउनुपर्ने, एमसीसीका कतिपय बुँदा संशोधन हुनुपर्ने र संसद् अवरोध समेत हटेपछि मात्रै एमसीसी टेबुल हुनुपर्ने बताएका छन्।