काठमाडौं– अमेरिकी सहायता परियोजना एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा रहेका तीन दल छुट्टै छलफलमा जुटेका छन्। नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा तीन दलको बैठक बसेको हो।
नेपाल निवासमा नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेका छन्। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष अशोक राई तथा एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल माधव नेपाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी छन्।
एमसीसी सम्झौता संसद्मा टेबुल गर्ने विषयमा सहमति गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ भने त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ।