काठमाडौं- कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार दिउँसो १ बजे न्याय सेवा आयोगको बैठक बोलाएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित भएपछि कामु प्रधानन्यायाधीश बनेका कार्कीले अदालतलाई पुरानै अवस्था फर्काउने गरी काम गर्न शुक्रबारको फुलकोर्टमा न्यायाधीशहरूले दिएको सुझावपछि न्याय सेवा आयोगको बैठक बोलाएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फसेसागै गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन। कागजी प्रक्रिया पुर्याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए।
जिल्ला न्यायाधीशको लिखित परिक्षाको परिणाम लोकसेवाबाट प्राप्त भएको र उत्तीर्ण भएका जिल्ला न्यायाधीशको नाम सिफारिस, कर्मचारीको सरुवा, बढुवालगायत विषय बैठकमा छलफल हुनेछन्।
आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो। उक्त परीक्षामा सहभागी भएकाहरूको लोकसेवा आयोगले परीक्षा लिएको थियो। उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको हो।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुन्छन्।