बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी पार्टीहरुकै मिलेमतोमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने खतरा रहेको बताएका छन्।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले एमसीसी पारित गर्नका लागि अमेरिकाले आफ्नो शक्ति प्रयोग गरिरहेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एमसीसी पास गराउन अमेरिका लागि परेको बताए।
एमसीसी पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाईरहेको उनको दाबी छ। ‘एमसीसी पास गराउने विषयमा अमेरिकाले राष्ट्रिय जनमोर्चासँग आशै गरेको छैन, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि अमेरिका एमालेको पछि लागेको छ,’ उनले भने। एमसीसीले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताए।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले अमेरिकन जासुस नेपाल आएर नेपालीलाई फकाइरहेको दाबी गर्दै सत्ता चलाउनेहरु बिकी सकेको दाबी गरे। सत्ता चलाउनेहरुको असक्षताका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको बताए।