काठमाडौं-
राइफलका मोहरीहरूबाट
निशाना ताक्दै जब बुलेट
दुश्मनका मुटुहरूमा धसिन्छन्,
लञ्चरका ढ्वाङहरूबाट
मजबुत बंकरहरू मसानघाटमा गाड्दै
जब ग्रिनेडहरू विस्फोटित हुन्छन्,
हरपल हरघडी
मेरो कमरेड
सन्तोषको आकाशमा विचरण गर्दै
विष्फोटनहरूलाई अंगाल्छ
हिम्मतको मञ्जील थप्दै
विजय मोर्चाहरूको प्रतिक्षामा
व्यवधानका अजंग पर्खालहरू छप्काउँदै
उ निरन्तर अगाडि बढिरहन्छ।
'अमरत्वको चुम्बन'को कवितांश हो, यो। कवि हुन्- पुरण क्षेत्री। अर्थात् कमरेड करेन्ट।
फ्ल्यासब्याक- ०५६ साल १० महिना १८ गते।
माओवादी सशस्त्र द्वन्द्वको आधार इलाका भएकाले रोल्पामा सत्तापक्षको मनोबल कमजोर बन्दै गएको थियो। नेपाली सेना र नेपाल प्रहरीले समेत माओवादी लडाकुहरूसँग डर मान्न थालेका थिए।
शान्ति सुरक्षाको अवस्था बुझ्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रोल्पा जाने कार्यक्रम थियो। कोइराला रोल्पा नपुग्दै यो सूचना नेकपा (माओवादी)को तत्कालीन गाविस (लिबाङ) कमिटीसम्म पुग्यो। कमिटी इञ्चार्ज थिए- पुरण क्षेत्री।
कोइराला प्रधानमन्त्री भएका नाताले राज्यसम्म प्रभाव देखाउने यो मौका पनि थियो। त्यसैले माओवादीले उनीसम्म प्रभाव पुर्याउने योजना बनायो- कोइरालालाई बम विस्फोटको आवाज सुनाउने। योजनाअनुरुप रमेश थापा 'विद्रोही'को नेतृत्वमा निर्मल महरा (कृष्णबहादुर महराका छोरा) र फगामकी छाया फिल्डमा उत्रिए। सत्तापक्षा (नेपाली सेना)बाट विद्रोह गरेर माओवादीमा लाग्नु र भूमिगत हुनु चानचुने कुरा थिएन, त्यसमा पनि देशकै सुरक्षाशक्ति लिएर हिँड्ने कार्यकारी भूमिकामा रहेकालाई तर्साउनु झन् चुनौतीपूर्ण थियो।
प्रधानमन्त्री कोइरालालाई 'तर्साउन'का लागि विद्रोही, निर्मल र छायाले लिबाङको खाद्यटोलस्थित घुम्तीमा बिहानै 'टाइम बम'को सेटिङ मिलाए। तर दुर्भाग्य, प्राविधिक गडबडीका कारण बम निर्धारित समयभन्दा पहिल्यै विस्फोट भयो। विद्रोहीको दाहिने खुट्टा छेदविच्छेद भयो।
परिस्थिति सोचेभन्दा फरक बनिदियो। विद्रोही ६ फिटभन्दा अग्ला थिए। ठूलो शारीरिक बनावट र मोटो जिउडाल। तर निर्मल र छाया भने सानो कदका। उमेरले पनि र शारीरिक बनावटले पनि। विद्रोहीलाई बोकेर सुरक्षित ठाउँसम्म पुर्याउन निर्मल र छायालाई निकै सकस पर्यो, हम्मेहम्मे भयो। र पनि जसोतसो नजिकैको जंगलसम्म पुर्याए।
खुट्टाबाट रगतको धारो बगिरहेको थियो। त्यतिकैमा विद्रोहीले निर्मललाई भने, 'तपाईं घटनाको सूचना लिएर कमिटीको कार्यालयमा जानुस् र ईञ्चार्ज कमरेडलाई जानकारी गराउनुहोस्।'
त्यसपछि सूचना लिएर निर्मल कुदे कमिटीका अन्य साथीहरू भेट्न।
विद्रोहीले छायालाई पनि भने, 'मलाई यतै छाडिदिनुस्। तपाईं जानुहोस्। म यतै मर्छु होला। तर तपाईंको जीवन अमूल्य छ, हामीले देखेको क्रान्तिको सपना पूरा गर्न भए पनि तपाई बाँच्नैपर्छ। तपाईं चाँडै जानुस्।' तर छायाको आत्माले भने मानिरहेको थिएन। बरु उनले प्रतिप्रश्न गरिरहेकी थिइन्, 'घाइते योद्धालाई यत्तिकै छाडेर म कसरी जाउँ?'
वार्तालाप चलिरहेकै थियो। केही समयमै अलिक टाढा नेपाली सेना र प्रहरी देखिए। खाद्यटोलको घुम्तीबाट बग्न थालेको विद्रोहीको रगतलाई पछ्याउँदापछ्याउँदै उनीहरू जंगलतिर कुदिरहेका थिए।
यो दृश्य देखेपछि भने छायालाई त्यहाँबाट नचाहँदा–नचाहँदै भाग्नैपर्ने अवस्था आयो। भागेकैले उनी बाँच्न सफल भइन्।
त्यतिबेला विद्रोहीसँग अर्को 'टाइम बम' पनि सुरक्षित थियो। तर उनले बम विस्फोट गर्नुअगावै प्रहरीले गोली ठोकिहाल्यो- टाढाबाटै।
कस्तो बिडम्बना!
यता विद्रोहीलाई प्रहरीले गोली ठोकेको समय र उता निर्मलले पुरणलाई सूचना पुर्याएको समय एउटै थियो। दिउँसो २ बजे।
यो घटनाले पुरणलाई अहिले पनि बेलाबेला बिथोलिरहन्छ। भावविह्वल हुँदै उनी भन्छन्, 'घाइते बनेका कमरेड विद्रोहीलाई प्रहरीले पक्राउ गरेर राख्न पनि सक्थ्यो, तर निर्ममताका साथ गोली ठोकेर मार्यो।'
पुरणको लागि सबैभन्दा दर्दनाक घटना थियो त्यो। सहिद बनेका विद्रोहीकै लागि उनले एउटा कवितासमेत लेखे 'अमरत्वको चुम्बन'।