काठमाडौं- शनिबार बिहान भक्तपुर सूर्यविनायकमा प्रमुख वक्ता भएर पुगे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। ओली आफ्ना भाषणमा पुराना किस्सा जोडेर रोचक बनाउन समकालीन राजनीतिका शीर्ष नेताहरुमध्ये माहिर मानिन्छन्। उखानटुक्कामा पनि ओलीको रुचि विशेष छ।
भक्तपुरको मञ्चमा पनि उनले एउटा किस्सा सुनाए। किस्सामा उनले पूर्वतिरको प्रसंग कोट्याए। एमाले छोडेर नेकपा माओवादी केन्द्रका साथै एकीकृत समाजवादीमा गएका नेताहरूलाई एमालेमा नै फर्कन आग्रह गर्दै उनले किस्सा जोडेका थिए।
ओलीको किस्सा जस्ताको तस्तै
उहिले पूर्वतिर मेला लाग्थ्यो। एक थरी उरन्डेउलाहरु हुल बाँधेर जान्थे। अनि लुकाएर सिन्दुर चाँहि खल्तीमा हालेर जुम्सो जस्तो भएर जाने। अनि राम्री केटी देखेपछि छ्वास्स टाउँकोमा सिन्दुर र्याँकी दिएर गुटुटु भाग्ने। के भो, के भो भन्दाभन्दै उहाँ पुगिसक्यो। माईतीहरु चाहिँ सिन्दुर हालीहाल्यो भनेर (खोजीखोजी त्यही केटालाई छोरी जिम्मा लगाउन जान्थे। यहाँ एमालेका नेता कार्यकर्ताहरूलाई) कहिले माकुने (एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल)ले सिन्दुर हालिदिएको छ झुक्याएर। कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ सिन्दुर। कहिले काँग्रेसले हालिदिएको छ। आजको जमानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ? हामी माईतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन। आउनुस्, तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस्। यहाँ आउनुस् लक साबुनले नुहाउनुस्। नेकपा एमालेका आउनुस्, देश बनाउने अभियानमा लागौं।’