काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताएका छन्। ७२औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।
उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दाबी गरे। स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढिकरणगरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वाससमेत व्यक्त गरे।
‘कोभिड १९ को प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको छ। र, यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको छ। सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार तथा सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ,' उनले भने।
प्रधानमन्त्री देउवाले मुलुकको द्रूत गतिका लागि आर्थिक विकास र रूपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए। त्यस अवसरमा उनले सुन्दर नेपाल बनाउने सपनालाई साकार पार्न प्रजातन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने शुभकामना पनि व्यक्त गरे।