काठमाडौं– रौतहटको चन्द्रनिगाहापुरका सुनिल विक र उनकी श्रीमती वर्षौदेखि काठमाडौंमा घर बनाउने मिस्त्रीको काम गर्दै आइरहेका थिए। उनीहरुको १३ वर्षिया छोरी सदिक्षा नजिकै रहेको जनपद स्कुलमा अध्ययनरत थिइन्। हरेक बिहान छोरीलाई खाना खुवाइसकेपछि उनीहरुको ज्यालादारी ड्युटी सुरु हुन्थ्यो।
गत माघ ८ गते बिहानको कुरा हो। सदाझैं त्यो बिहान पनि तीन कक्षा पढिरहेकी छोरी सदिक्षालाई स्कुल पठाएपछि सुनिलको जोडी नियमित काममा लागेको थियो। साँझ कामबाट थाकेर घर फर्कंदा हरेक दिन छोरी उनीहरुलाई कुरिरहेकी हुन्थिन्। घर पुगेपछि छोरीको मुस्कान देख्दा सुनिल र उनकी श्रीमतीको पनि दिनभरको थकान नै मेटिन्थ्यो।
तर, त्यसदिन कामबाट घर फर्कंदा छोरी उनीहरुको स्वागतमा सरिक भइनन्। छोरीलाई नदेखेपछि बाआमा दुवै चकित भए। स्कुलदेखि यताउता छरछिमेक सबैतिर खोजे। तर, कहीँ भेटिइनन्। एक महिना भइसक्यो, हराएकी छोरी खोज्दै सुनिल र उनकी श्रीमती काठमाडौंमा भाैतारिरहेका छन्। उनीहरु छोरी खोजिदिन उजुरी लिएर बालबालिका खोजतलास केन्द्रसम्म पुगिसकेका छन्। तर, अहिलेसम्म छोरीको अत्तोपत्तो छैन।
०००
दोलखा गौरीशंकर नगरपालिकाका १४ वर्षिया हिमाल सेन्चुरीको कथा पनि उस्तै उस्तै छ। उनी भक्तपुरको गुन्डुबाट हराएका डेढ महिना बितिसक्यो। भक्तपुरमा आफ्ना दुई दाइसँग बस्दै आएका उनी पुस १९ गतेको बिहान ‘सातदोबाटो जान्छु’ भनेर घरबाट हिँडेका थिए। त्यसपछि अहिलेसम्म घर फर्किएका छैनन्।
भक्तपुरको ज्योती स्कुलमा कक्षा ७ मा अध्ययनरत हिमाल एक्कासी हराएपछि उनका दुवै दाई अहिले तनावमा छन्। फर्निचरको काम गर्दै आएका दाई राजन अहिले उनको खोजीमा दिनरात हिँडिरहेका छन्। ‘स्कुल जान छोडेर सातदोेबाटो आफन्तकोमा जान्छु भन्दै हिँडेको थियो,’ नेपाल समयसँग उनले भने, ‘पछि बुझ्दा त भाइ त्यहाँ गएकै रहेनछ। बरु कोटेश्वरमा अर्का आफन्तमा गएको थाहा भयो। तर, त्यहाँबाट निस्किएपछि कहाँ गयो थाहा छैन। अहिलेसम्म बेपत्ता छ।’
दाइ राजनका अनुसार सानै भए पनि हिमाल अलि चकचके स्वभावका थिए। कहिलेकाहीँ साथीहरुको घर जाँदा उतै बस्दिने बानी थियो। एकपटक तिहारको समयमा यस्तै गरेका थिए। साथीको घर गएका उनी दुई दिन उतै बसेरमात्रै फर्किएका थिए। त्यसैले दाइ राजनलाई पनि लागेको थियो, ‘पक्कै साथीहरुकहाँ गयो होला, फर्किएला।’
तर, दुई महिना बितिसक्दा पनि उनी फर्किएनन्। हिमालको परिवार उनको उजुरी लिएर प्रहरीकहाँ पनि पुगिसक्यो । तर, अहिलेसम्म भेटिने कुनै संकेत मिलेको छैन।
कामबाट घर फर्कंदा छोरी उनीहरुको स्वागतमा सरिक भइनन्। छोरीलाई नदेखेपछि बाआमा दुवै चकित भए। स्कुलदेखि यताउता छरछिमेक सबैतिर खोजे। तर, कहीँ भेटिइनन्।
हिमाल र सदिक्षाको कथा त प्रतिनिधि उदाहरणमात्रै हो। पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम तीव्र रुपमा बढेको छ। पछिल्लो ५ वर्षको तथ्यांक केलाउने हो भने हामीकहाँ बालबालिका कति असुरक्षित हुँदै गइरहेका छन् भन्ने छर्लङ्गै देखाउँछ।
राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मात्रै नेपालमा १४ हजार १ सय ४२ बालबालिका हराएका थिए। र, अर्को गम्भिर पक्ष हराउनेमा बालकभन्दा बढी बालिका छन्। बालकको संख्या ४ हजार १ सय ७१ हुँदा हराउने बालिकाको संख्या ९ हजार ९ सय ७१ छ।
तर, हराएका सबै नभेटिने होइनन्, भेटिएका पनि छन्। परिषद्को तथ्यांकअनुसार १४ हजारमध्ये ३ हजार ५८ बालक र ७ हजार ३ सय १८ बालिका भेटिएका छन्। तर, ३ हजार ७ सय ६६ बालबालिका अझै भेटिएका छैनन्। जसमा बालक १ हजार १ सय ११ र बालिका २ हजार ६ सय ६३ जना रहेका छन् ।
हराएकामध्ये अधिकांश बालबालिका घरबाटै हराएको उजुरी बालबालिका खोजतलास केन्द्रमा पर्ने गरेको छ। बालबालिका हराउनासाथ तत्काल उजुरी दिनुपर्छ भने सचेतना नहुँदा पनि हराएका बालबालिका भेटिन सकस हुने गरेको छ।
पछिल्लो दुई आर्थिक वर्षकै विवरण केलाउँदा पनि बालबालिका हराउनेको संख्यामा वृद्धि नै देखिन्छ। जस्तो आर्थिक वर्ष ०७६–०७७ मा
२ हजार ७ सय २९ बालबालिका हराएका थिए भने ०७७–०७८ मा यो संख्या बढेर ३ हजार ६ सय ५८ पुगेको छ। जसमध्ये ८ सय ४९ बालक र २ हजार ८ सय ९ बालिका रहेका छन्। देश कोराना संक्रमणबाट गुज्रिरहेकै यो समयमा पनि बालबालिका यति धेरै संख्यामा हराएका हुन्।
किन हराइरहेछन् बालबालिका?
राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकअनुसार हराउनेमध्येमा पनि बढी १० वर्षभन्दा कम उमेर समूहका छन्। र, १५ देखि १८ उमेर समूहको संख्या पनि धेरै नै छ। ‘बालबालिका किन हराइरहेका छन्, हामीकहाँ सरकारीस्तरबाट यसबारे पर्याप्त अध्ययन अनुसन्धान नै भएको छैन,’ राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्द भन्छन्, ‘तर, अहिलेसम्म भेटिएकाहरुको घटनाक्रम केलाउँदा अशिक्षा र गरिबी झेलिरहेको परिवारका नानीलाई जागिर लगाइदिने र पढाइदिने बहानामा स्वदेश तथा विदेशमा लगेर श्रम तथा यौन शोषणसम्म गरेको पाइन्छ। कतिपय गाउँबाट मिठो खाने र पैसा कमाउने चाहनामा सहर छिर्ने गरेका छन्। अनि, विस्तारै थाहै नपाई शारीरिक श्रमजस्ता कार्य गर्न बाध्य बनेका छन्।’
आफ्ना सन्तानप्रति राज्यमात्रै होइन, कतिपय अवस्थामा अभिभावक पनि पर्याप्त रुपमा उत्तरदायि नभएको प्रवक्ता चन्द बताउँछन्। ‘हराएका बालबालिका कहाँ कुन अवस्थामा छन्, कसैलाई थाहा छैन,’ उनी भन्छन्, ‘हराएर भेटिएका बालबालिका पनि कुन अवस्थामा थिए र कसरी फिर्ता भए भन्ने विवरणसमेत हामीकहाँ सम्बन्धित निकायले उल्लेख गरेको पाइँदैन। बालबालिकाका क्षेत्रमा काम गर्नका लागि लाखौँ रकम विनियोजन गरे पनि बालबालिका बेपत्ता हुने क्रम अझै नरोकिनु विडम्बना हो।’
बालबालिका सम्बन्धी ऐन २०७५ मा बाँच्न पाउने, शिक्षा, खेलकुद मनोरञ्जन तथा सांस्कृतिक, पोषण तथा स्वास्थ्य, बाबुआमासँग बस्ने, भेट्ने, भेदभाव विरुद्धको अधिकार, अपांगता भएका बालबालिकाको विशेष अधिकार, संरक्षण सहभागिताको अधिकार उल्लेख गरिए पनि कार्यान्वयन गर्ने कुरामा राज्यले कति जोड दिइरहेको छ, प्रश्न आवश्यक छ।
हराएका बच्चा कस्तो अवस्थामा भेटिन्छन्?
मंसिर १८ गते बीएमा भर्नाका लागि ‘इन्ट्रान्स’ दिन गएकी कैलालीकी १८ वर्षिय जुनु शाह (नाम परिवर्तन) पुरानो बानेश्वरबाटै हराइन्। लगत्तै उनको परिवारले प्रहरीमा उजुरी दिएपछि गत पुस १३ गते प्रहरीले उनलाई कैलालीको टीकापुरबाट फेला पार्यो। उनलाई एक व्यक्तिले ललाइफकाइ गरेर भारतमा बेच्न जान लागेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। कैलाली प्रहरीले ती व्यक्तिलाई पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
हराएकी बालिका बेचिनबाट जोगिएको यो त एउटा उदाहरण हो। तर, सबै हराएका बालबालिका यस्तै अवस्थामा भेटिन्छन् त?
राष्ट्रिय बाल अधिकार परिषद्का चन्द यसको खास जवाफ कसैसँग नभएको बताउँछन्। ‘यसको विस्तृत विवरण कसैले राखेको पाइँदैन तर, सबै बेचिनकै लागि हराएको भने पाइँदैन,’ उनी भन्छन्, ‘हराएका कतिपय सामान्य अवस्थामा भेटिएका पनि छन्। कतिपय घरमा जानकारी नदिई साथीभाइको घरमा जाँदा भेटिएका पनि छन्। कतिपय सहर बजारका चोकहरुमा पनि भेटिएका छन्। र, कतिपय परिवारले बेवास्ता नगरेको अवस्थामा पनि भेटिएका छन्।’