काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसी नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको र राजनीतिक प्रणालीको रक्षाका लागि गठबन्धन बनेको समेत दाबी गरेकी छन्।
सरकारमा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको उनको तर्क थियो। मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने पनि उल्लेख गरिन्।
'यी (एमसीसीजस्ता) विषय नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरु हुन्। यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ।’
'नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित गर्यौं, त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो। अरु यस्ता एमसीसी लगायतका इस्यूहरु थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो,' मन्त्री झाँक्रीले भनिन्, 'त्यसमा अन्तर्राष्ट्रिय प्रतिबद्धता छन् नेपालको तर्फबाट। प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो? त्यसले धेरै कुराको निर्धारण गर्दैन। नेपालको प्रतिबद्धता हो।'
उक्त दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले धारण गरिराखेको उनको भनाइ छ। 'म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन,' उनले भनिन्।