काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।
एमसीसी सम्झौता अघि बढाउन सहमति जुटाउने प्रयासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गराउने प्रयासमा प्रधानमन्त्री देउवा लागिपरेका छन्।
हिजो राति अबेरसम्म छलफलमा सक्रिय प्रधानमन्त्री देउवा अहिले बिहान सत्ता गठबन्धनमा सहभागी दलहरूसँग छलफलमा जुटेका हुन्।
उता, दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन्। संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक वा प्रतिनिधि सहभागी हुने कार्यव्यवस्था परामर्श समितिले दिएको सुझावका आधारमा सभामुखले संसद बैठकको कार्यसूची तय गर्ने परम्परा छ। यद्यपि, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ। संसद् बैठकमा अवरोध जारी राख्ने उसले बताएको छ।
हिजो राति अबेरसम्म छलफलमा सक्रिय प्रधानमन्त्री देउवा अहिले बिहान सत्ता गठबन्धनमा सहभागी दलहरूसँग छलफलमा जुटेका हुन्।
आजको बैठकमा एमसीसी टेबुल गर्न प्रधानमन्त्रीले जोडबल गरेका छन् तर सहमति जुटाउन सकिरहेका छैनन्। संघीय संसद् सचिवालयले हिजो सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी छैन। यद्यपि, आज कार्यव्यवस्थाको बैठक बसेपछि अन्तिम कार्यसूची तय हुन्छ। गठबन्धनमा सहमति नजुटेपछि अस्ति बुधबार बसेको प्रतिनिधिसभाको बैठक एमसीसीसम्बन्धी प्रस्ताव पेस नभई स्थगित भएको थियो।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसद्बाट एमसीसी पारित गर्नुपर्ने पक्षमा भए पनि सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सम्झौता परिमार्जन हुनुपर्ने माग गर्दै आएका छन्। अर्को साझेदार जनता समाजवादी पार्टीका नेताहरू भने एमसीसीबारे विभाजित छन्।
प्रधानमन्त्री देउवाले गठबन्धनमा सहभागी दलहरूलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गर्दै प्रमुख प्रतिपक्षी दलनेतासँग पनि छलफल जारी राखेका छन्। हिजो राति उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। प्रधानमन्त्री पत्नी आरजु राणासमेत सहभागी बैठकबाट कुनै निष्कर्ष ननिस्केको विवरणहरु सार्वजनिक भएका छन्। एमालेले गठबन्धनको साझा धारणा र संसद्मा एमसीसी छलफलका लागि पेस भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएको छ। अध्यक्ष ओली एमसीसीप्रति सकारात्मक नै देखिए पनि एमालेका कतिपय नेता भने एमसीसीका कट्टर विरोधी छन्।
एमालेले गत भदौदेखि नै संसद्मा अवरोध गर्दै आएको छ। आफ्नो दलले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै उसले संसद्मा अवरोध गरेको हो। एमालेको अवरोधकै बीच सांसद्बाट चालू आर्थिक वर्षको बजेट पारित भए पनि अन्य कार्यसूची अघि बढ्न सकेको छैन।
सत्ता साझेदार दहरु माओवादी र एकीकृत समाजवादी एमसीसी अघि बढाउन संसद्मा जारी अवरोध हट्नुपर्ने बताउँदै आएका छन्। यसका लागि प्रधानमन्त्रीले प्रयास पनि गरिरहेका छन्। तर, एमाले आफ्नो अडानबाट पछि हटेको छैन। उता १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।