काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासरत सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान १० बजेका लागि बोलाइएको छ।
बिहीबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि सोही विषयमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको हो।
आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ। त्यसैले प्रतिनिधि सभा बैठकअघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफल गर्ने भएका हुन्।
यहीबीच सभामुख अग्निप्रसाद सापकोटाले पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् बैठकका कार्यसूची तय गर्न सभामुख सापकोटाले बिहान साढे ११ बजे परामर्श समितिको बैठक बोलाएका हुन्।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने चासोकाबीच सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।