काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ।
त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् बैठकका कार्यसूची तय गर्न सभामुख सापकोटाले बिहान साढे ११ बजे परामर्श समितिको बैठक बोलाएको बताइएको छ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने चासोकाबीच सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास हुनुपर्ने पक्षमा छन्। तर, सत्ता गठबन्धनभत्रि नै एमसीसीको विषयलाई लिएर चर्को मदभेद रहेको छ।
सहमतिको प्रयासका लागि आज बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ। बिहीबार बेलुकी बसेको गठबन्धनका नेताहरूको बैठक निष्कर्षविहीन भएको थियो।
गठबन्धनसँगको बैठक कुनै टुंगोमा नपुगेपछि प्रधानमन्त्री देउवा राति नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।