काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ। बिहीबार राति करिब डेढ घण्टा चलेको भेटवार्तामा एमसीसी अनुमोदनको सन्दर्भमा छलफल भएको बताइएको छ। साँझ सत्ता गठबन्धनको बैठक सकेर देउवा पत्नी आरजु राणासँगै ओली भेट्न बालकोट पुगेका थिए।
सत्ता साझेदार दलले एमसीसी टेबुल गर्न नहुने अडान राखेपछि देउवाले ओलीसँग संवाद गरेका हुन्। बिहीबार बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई बालकोट पठाएर देउवाले ओलीसँग संवाद थालेका थिए।
एमसीसीमा केन्द्रित भएको देउवा र ओली भेटमा देउवाले गठबन्धनले साथ नदिएको दुःखेसो पोखेका थिए। एमसीसी पास गर्ने सन्दर्भमा आफूलाई गठबन्धनको भन्दा धेरै प्रतिपक्षसँग भरोसा रहेको बताएका थिए। ‘एमसीसी पास गर्नु छ। एमसीसीमा गठबन्धनका अन्य दलले साथ दिएनन्। मलाई गठबन्धनप्रति भन्दा प्रमुख प्रतिपक्षीप्रति भरोसा छ,’ देउवाले भनेका थिए।
जवाफमा ओलीले एमसीसीमा एमाले सकारात्मक रहेको बताएका थिए। तर, अन्य राजनीतिक मुद्दामा कांग्रेसले प्रष्ट धारणा बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो। ‘तपाईले चिन्ता लिन पर्दैन। तपाईलाई माधव नेपाल र प्रचण्डले उचाले। हामी एमसीसीबारे एमालेभित्र अझै छलफल गर्छौं,’ उनले भनेका थिए, ‘एमसीसीमा हामी सकारात्मक छौँ। तर राजनीतिक अरु मुद्दामा कांग्रेसकै धारणा आउनु पर्यो,’ एमाले अध्यक्ष ओलीलाई उद्धृत गर्दै बालकोट स्रोतले भन्यो।
करिब डेढ घण्टा चलेको छलफलमा प्रधानमन्त्री देउवाले मात्र होइन, उनकी पत्नी डा आरजु राणाले पनि एमसीसी पास गर्नका लागि सहयोग गर्न ओलीसँग आग्रह गरेकी थिइन्। ओलीसँग आरजुले भनेकी थिइन्, ‘एमसीसी विकासको कुरा हो, हजुरले पिएमलाई साथ दिन पर्यो।’
प्रधानमन्त्री देउवाले बुधबार नै एमसीसी संसद्मा टेबुल गर्ने प्रयास गरेका थिए। तर, सत्तासाझेदार दल र सभामुख अग्नि सापकोटा एमसीसी टेबुल गर्न सकारात्मक नदेखिएपछि देउवाको प्रयास सफल हुन सकेको थिएन।