बुधबार, भदौ ३, २०८३

सत्ता साझेदार दललाई तीन विकल्प दिएका देउवा किन पुगे बालकोट?

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै संसदमा एमसीसी टेबुल गर्न चाहन्थे। तर, सोही दिन बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी यथास्थितीमा अघि बढ्न नसक्ने र अघि बढाइए सरकार छाड्ने चेतावनीयुक्त निर्णय गरिदियो।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं– एमसीसी अनुमोदनको विषयमा चर्को मतभेद देखिएको सत्ता गठबन्धनको बिहीबार साँझ बसेको बैठकमा गर्मागर्मी बहस भयो। एमसीसी संसदमा टेबुल गर्ने, गर्न नहुने र भए विपक्षमा मतदान गर्ने तीन थरी मतले प्रधानमन्त्री निवास बालुवाटार गरम बनेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै संसदमा एमसीसी टेबुल गर्न चाहन्थे। तर, सोही दिन बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी यथास्थितीमा अघि बढ्न नसक्ने र अघि बढाइए सरकार छाड्ने चेतावनीयुक्त निर्णय गरिदियो। सभामुख अग्नि सापकोटा समेत एमसीसी अघि बढाउन तयार देखिएनन्। बुधबार र बिहीबार बिहान देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटको पृष्ठभूमिमा बिहीबार साँझ गठबन्धनको बैठक बसेको थियो।  

बैठकमा देउवाले एमसीसी अघि बढाइछाड्ने अडान राखे। उनले माओवादी लगायतका सत्ता साझेदार दलका सामु तीन विकल्प दिएका थिए। पहिलो– एमसीसी सदनमा र्लजान सहयोग गर्ने। दोस्रो– एमसीसीको विपक्षमा मतदान गर्न सक्ने। तेस्रो–सरकार छोड्ने। बैठकमा देउवाले भनेका थिए, ‘तपाईंहरुका कुरा धेरै सुनेँ। अब अघि बढ्ने बेला आइसक्यो। तपाईँहरुका सामु तीन विकल्प छन्। कुन रोज्ने तपाईंहरुकै कुरा।’ एमसीसी धेरै गिजोलिएको भन्दै देउवाले अब संसदले छिनोफानो गर्नुपर्ने बताएका थिए।

देउवाले दिएका तीन विकल्पका बारेमा सत्ता साझेदार दलका नेताले प्रष्ट निर्णय दिएनन्। यसअघि बसेको गठबन्धनको बैठकमा भन्दा बिहीबारको बैठकमा प्रचण्ड कडा रुपमा प्रस्तुत भएका थिए। उनले परिस्थितीलाई ख्याल गरेर एमसीसी अघि नबढाउनु नै उपयुक्त हुने बताएका थिए। ‘एमसीसी विरुद्ध जनता सडकमा उत्रिएका छन्। परिस्थितीलाई ख्याल गरौं,’ उनले भनेका थिए, ‘हाम्रो अडान हिजो जे थियो, आज पनि त्यही हो।’  

एमसीसीसँगै संकल्प प्रस्ताव पारित गरेर अघि बढ्न सकिने कांग्रेस महामन्त्री थापाको प्रस्ताव समेत प्रचण्डले अस्वीकार गरिदिएका थिए। थापाले एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने प्रावधानसहितको संकल्प प्रस्ताव पास गरेर अघि बढ्न सकिने प्रस्ताव बैठकमा गरेका थिए। ‘भविष्यमा नेपालको हितविपरीत कुनै काम भएमा सम्झौता खारेज गर्न तत्पर छौं भनेर संकल्प प्रस्ताव गर्दा सबैको सरोकार सम्बोधन हुन्छ,’ थापाको प्रस्ताव थियो। तर, प्रचण्डले चिज धेरै अघि बढिसकेको भन्दै एमसीसीका पक्षमा उभिन नसक्ने जवाफ फर्काएका थिए। बैठकमा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले भने फागुन ७ गते पार्टीको स्थायी कमिटी बैठक रहेकाले बैठकमा विस्तृत छलफल गरेर उचित निर्णयमा पुग्ने बताएका थिए।

उनले पार्टीको बैठकअघि एमसीसी अघि नबढाउन देउवालाई आग्रह गरेका थिए। जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसी अनुमोदन गरेर अघि बढ्नुपर्ने बताएका थिए। एजेन्डामा सहमति नहुने हो भने गठबन्धनको औचित्य नरहेको उनको भनाइ थियो। एमसीसीबारे सत्ता साझेदार दल आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक शुक्रबार बिहान बस्ने गरी सकिएको छ।

सत्ता गठबन्धनमा सहमति जुट्ने सम्भावना क्षीण देखेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्। आज बिहान मिनेन्द्र रिजाललाई बालकोट पठाएर ओलीसँग संवाद सुरु गरेका देउवा राति आफैं बालकोट पुगेका छन्। दुई नेताबीच एमसीसी अनुमोदन, सभामुख अग्नि सापकोटाको भूमिका र १४ सांसदमाथिको कारबाहीका विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: Feb 17, 2022| 22:42 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...