काठमाडौं- प्रतिनिधि सभाको दशौं अधिवेशनको पाँचौं बैठक शुक्रबार दिउँसो बस्ने भएको छ। उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची भन्दै एक बुँदे कार्यसूची रहेको जानकारी गराएको हो।
संसद् सचिवालयले जानकारी गराएको कार्यसूची अनुसार शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाती आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७-०७८ पेश गरिने भएको छ।
त्यसैगरी अन्य कार्यसूचीका अन्य विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ।
उक्त बैठकअघि सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बस्ने भएको छ। शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी प्रधानमन्त्ती देउवाको रहेको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसमा आपत्ति जनाउँदै आएको छ।
अर्कोतर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत भदौ अन्तिम सातादेखि लगातार संसद् अवरोध गर्दै आएको छ। नेकपा एमालेले माधव नेपालसहितका १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै संसद् अवरोध गरेको हो।