मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धन बैठकमा देउवाले भने - शुक्रबार एमसीसी टेबल गरौं, प्रचण्डको जवाफ - मान्य छैन

गठबन्धन बैठकमा देउवाले भने - शुक्रबार एमसीसी टेबल गरौं, प्रचण्डको जवाफ - मान्य छैन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव गरेका थिए।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतालाई अघि बढाउने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने यथास्थितिमा एमसीसी टेबल गर्न नहुने बताएका छन्। उनले बैठकमा भने, 'संसद्को अवरोध कायम रहेसम्म एमसीसी टेबल गर्न हुँदैन, यथास्थितीमा एमसीसी टेबल गर्ने कुरा मान्य छैन।' 

प्रधानमन्त्री देउवाले यसअघि एमसीसीको मुख्यालयलाई संयुक्त पत्र बुझाएको विषयमा स्मरण गराउँदै एमसीसीको मुद्दा धेरै लम्ब्याउन नहुने र तत्काल टुंग्याउनुपर्ने बताएका हुन्। 

यसअघि फागुन ४ गते नै एमसीसी टेबल गर्ने सहमति भएको बताइए पनि अन्तिम समयमा प्रचण्डले नै फागुन ६ गते अघि बढाउने र त्यसअघि दलहरुबीच छलफल गरेर सहमति जुटाउने बताएपछि देउवा ब्याक भएका थिए।

बिहीबारको बैठक निष्कर्षविहीन बनेपछि शुक्रबार बिहान ९ बजे सत्तारुढ दलका नेताहरुको बैठक फेरि बस्‍ने भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका वरिष्ठ नेता एवम् संयन्त्र संयोजक रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई सहभागी भएका थिए। राष्ट्रिय जनमोर्चा भने उपस्थित थिएन। 

प्रधानमन्त्री देउवाले कुनै हालतमा एमसीसी संसदमा पेस गर्ने अडान लिएपछि पाँच दलीय गठबन्धन संकटमा परेको हो। पाँच दलमध्ये कांग्रेस मात्रै एमसीसी संसदमा लैजाने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एमसीसी यथाअवस्थामा पारित गर्न नहुने पक्षमा छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा छ।

प्रकाशित: Feb 17, 2022| 20:14 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...