काठमाडौं- सत्तारुढ गठबन्धनको बिहीबारको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न ५ बजेपछि जारी गठबन्धनको बैठकले शुक्रबार फेरि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गर्ने भएको छ।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदबाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो।
उक्त बैठक निष्कर्षविहीन बनेपछि शुक्रबार बिहान ९ बजे फेरि बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका वरिष्ठ नेता एवम् संयन्त्र संयोजक रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई सहभागी भएका थिए।
प्रधानमन्त्री देउवाले कुनै हालतमा एमसीसी संसदमा पेस गर्ने अडान लिएपछि पाँच दलीय गठबन्धन संकटमा परेको हो। पाँच दलमध्ये कांग्रेस मात्रै एमसीसी संसदमा लैजाने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एमसीसी यथाअवस्थामा पारित गर्न नहुने पक्षमा छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा छ।
सरकारले शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने तयारी गरेको छ। तर, प्रचण्डले भने त्यसलाई रोक्ने प्रयास गर्ने भएका छन्।