काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार छोड्न सक्ने विकल्प रहेको स्मरण गराएका छन्। माओवादी केन्द्रले बुधबार संसदीय दलको बैठकबाट एमसीसी सम्झौता पारित गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि देउवालाई भेट्न पुगेका प्रचण्डलाई त्यस्तो विकल्पबारे स्मरण गराएका हुन्।
बालुवाटार स्रोतका अनुसार देउवाले प्रचण्डलाई अर्को पनि विकल्प सुझाएका थिए। उनले एमसीसीमा समर्थन गर्ने नभएपनि मौन बस्नसक्ने र विपक्षमा उभिए सरकार छोड्न भनेका थिए।
प्रधानमन्त्री देउवाले बुधबार दिउँसो नै प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता पेस गर्ने तयारी गरेका थिए। तर माओवादी पार्टी तयार नहुँदा बैठकमा उक्त सम्झौता पेस हुन सकेन। यसपछि सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री दिलेन्द्र बडूले शुक्रबारको बैठकमा सम्झौता अनुमोदन गर्ने प्रस्ताव गरिने बताएका थिए।
दिउँसोको बैठकमा एमसीसी सम्झौता पेस गर्ने वातावरण नबनेपछि प्रधानमन्त्री देउवाले साँझ बालुवाटारमा कांग्रेसका केही नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा सहभागीका भएकाहरूलाई देउवाले प्रचण्डसँग भएका कुराकानीबारे बताएका थिए।
‘कांग्रेस तत्काल एमसीसी पारित गर्ने पक्षमा छ। हामीले त्यसका लागि प्रयास पनि जारी राखेका छौँ। तर माओवादी केन्द्र र प्रचण्डले बोली फेर्ने काम गर्नुभएको छ। यस्तो अवस्थामा सहयोग गर्न नसक्ने भए सरकार छाडेर विकल्प दिनुस् भनेर मैले प्रचण्डसँग भनेको छु,' प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै कांगेसका ती नेताले भने।
बिहीबार कांग्रेस नेता केसीको पुस्तक 'नेपाली कांग्रेसको इतिहास'को विमोचन बालुवाटारमा भएको थियो। उक्त कार्यक्रममा देउवा र महामन्त्री गगन थापाले आफूहरू सत्तामा र सडकमा हुँदा पनि बोली फेर्न नसक्ने बताएका थिए।
यता भर्खरै सत्ताधारी ५ दलबीच बालुवाटारमा छलफल सुरु भएको छ।