काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। बुधबार साँझ ६ बजे देउवा र बेरीबीच बालुवाटारमा भेटवार्ता भएको हो।
एमसीसी अनुमोदनको विषयले सत्ता गठबन्धनमा मदभेद उत्कर्षमा पुगेका बेला राजदूत बेरीले देउवालाई भेटेका हुन्। अमेरिकाले नेपाललाई एमसीसी अनुमोदनका लागि समयसीमा बढाउन नसकिने बताउँदै आएको छ। सत्ता गठबन्धन नै टुट्ने अवस्था आएकाले एमसीसी अनुमोदनको समयसीमा बढाउन सकिने वा नसकिने भन्ने विषयमा देउवा र बेरीबीच छलफल भएको बुझिएको छ।
राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समेत छलफल भएको छ। सरकारले बुधबार एमसीसी अनुमोदनका लागि संसद्मा टेबुल गर्ने तयारी गरेको थियो।
तर, सत्ता साझेदार दलले यथास्थितिमा एमसीसी अघि बढाउन नहुने र जबरजस्ती बढाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका थिए। एमसीसीको विरोधमा सत्तारुढ दलका कार्यकर्ता सडकमै उत्रिएका थिए। एमसीसीका विषयमा निर्णायक छलफल गर्न गठबन्धनको बैठक साँझ ५ बजे बस्दैछ।