जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमसीसी संसदबाट पारित हुने आफू विश्वस्त रहेको बताएका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले यस्तो बताएका हुन्।
'विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ,' उनले भने।
एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसिसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। एमसीसी बिजुलीको प्रसारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गरेका उनले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको उल्लेख गरे।
निधिले एमसिसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गरेका थिए। पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जुट्न नेता कार्यकर्तासँग आग्रहसमेत गरे।