सोमबार, असोज ८, २०८०

स्विट्जरल्यान्डका बंकरमा कालोधन, सजिलो छैन निकाल्न 

 |  आइतबार, पुस १६, २०७४
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

sagarmatha cement
स्विट्जरल्यान्डका बैंकहरूमा जम्मा भएको रकमबारे छानविन हुनुपर्ने चर्चा खासगरी तेस्रो विश्वका मुलुकहरूमा समय-समयमा हुने गर्छ। पाँच वर्षअघि भारतमा कंग्रेस आईको सरकार हुँदा अन्ना हजारे र बाबा रामदेवले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान छेडेको समयमा कतिपय भारतीय सञ्चार माध्यमले वरिष्ठ नेताहरूको स्विस बैंकमा रहेको रकमको विवरण प्राप्त भएको बताउँदै 'ब्रेकिङ न्युज' प्रसारण गरेका थिए। 

नेपालमा पनि समय-समयमा यस विषयमा चर्चा हुने गर्छ। स्विस बैंकमा जम्मा भएको रकममा ३० प्रतिशतले वृद्धि भएको बताउँदै समाचार प्रकाशित भएको थियो। त्यसबारे छानविन आयोग गठन हुनुपर्ने माग संसदमा पनि नउठेको होइन, जसलाई स्वाभाविकै मान्न सकिन्छ। 

तर, यस विषयमा गृहकार्य गर्नुअघि स्विस बैंकको इतिहास, सुरक्षा, सूचनाको गोपनीयता, यससम्बन्धी अभ्यास र अन्तर्राष्ट्रिय प्रचलनबारे पनि जानकारी लिनु आवश्यक छ।

स्विट्जरल्यान्डको ब्रान्ड नै सुरक्षा र गोपनीयता

स्विस क्यान्टनहरू बीच सन् १८४० मा भएका सानातिना युद्धपछि राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष लोकतन्त्रको माध्यमबाट सन् १८४८ मा महासंघको स्थापना भएको हो। चकलेट, घडी, सुनजस्तै 'सुरक्षित बैंकिङ' र 'बंैकिङ गोपनीयता'सहितको 'स्विस बैंक' पनि स्विजरल्यान्डका ब्रान्ड हुन्। 

त्यहाँ उत्पादित घडीको दुरुस्तता, चकलेटको गुणस्तर र स्वाद तथा सुनको शुद्धतामा सरकारले जति ध्यान दिन्छ, त्यसभन्दा बढी बैंकको सुरक्षा र गोपनीयतामा केन्द्रित हुने गर्छ। 

यस्तो छ ऐतिहासिक पृष्ठभूमि

ग्रेट काउन्सिल अफ जेनेभाले सन् १७१३ मा युरोपेली कुलीन वर्गसँग सम्बन्धित सूचनाको गोपनीयता भंग गर्न प्रतिबन्ध लगायो। र, स्विट्जरल्यान्डले आफ्नो बैंकिङ प्रणालीलाई बढी सुरक्षित र गोपनीयताका साथ अघि बढाउने अवधारणाको विकास गरायो। परिणामस्वरूप 'प्रोटेस्टियन बैंकिङ' प्रणालीलाई बेवास्ता गर्दै क्याथोलिक फ्रेन्च राजाले आफ्नो धन जेनेभाको बैंकमा डिपोजिट गर्न थाले। त्यसपछि नै हो, स्विस बैंकले कुलीन वर्गले प्रवाह गर्ने नगदको सम्मानका लागि आर्थिक सुरक्षणको सुनिश्चितता प्रदान गर्न थालेको पनि। 

सन् १७४१ मा बेग्लिन एन्ड कम्पनी, सन् १७९६ मा हे हेन्टस्च र लोम्बार्ड ओडिएर नामका निजी बैंक तथा सन् १८०५ मा दी पिक्टेट ग्रुप र सन् १८५२ मा स्विस नेसनल बैंक स्थापना भए। 

सन् १९३४ मा बैंकिङ कानून पारित भएपछि बैंकले नाजी जर्मनीका शत्रुहरूको सम्पत्तिको संरक्षण आक्रामक ढंगबाट गर्न थाल्यो। सन् १९४० मा हिटलरले त्यसको घोर भत्र्सना गरे। यूबीएसले स्विस सशस्त्र सुरक्षा निकायसँग सम्पर्क राखी यहुदीहरूको सम्पत्ति ढुवानी गर्दै सेनाको ब्यारेकमा लुकाउन अनुरोध गर्‍यो। स्विट्जरल्यान्डको बैंकिङ कानूनले लावारिस सम्पत्ति बैंकको जिम्माबाट फिर्ता गर्न सीमित गरेको छ। 

स्विस सरकारको सहमतिमा बैंकले हिटलरको असीमित सम्पत्तिको खाता रोक्का राख्यो। दोस्रो विश्वयुद्धका क्रममा यूबीएसले जर्मनीको यहुदी जातिका व्यापारिक र सामान्य नागरिकको पनि खाता खोलेको थियो। 

विश्वभरका ग्राहकले स्विस बैंकमा डिपोजिट गरेका बहुमूल्य वस्तु र सम्पत्ति राख्न पहाडका फेदीमा भूमिगत बंकर, जहाँसम्म सडक र पैदलबाट पुग्न सकिँदैन, जहाजकै प्रयोग गर्नुपर्छ।


'ग्रान्ड फादर अफ दी बैंकिङ सेक्रेसी'

सन् १८१५ मा कांग्रेस अफ भियनाले स्विट्जरल्यान्डको अन्तर्राष्ट्रिय तटस्थतालाई औपचारिक रूपमा मान्यता दिएपछि स्विट्जरल्यान्डमा पुँजीको आगतमा वृद्धि हुन थाल्यो। स्विट्जरल्यान्डले अन्तर्राष्ट्रिय तटस्थता, बैंकिङ सुरक्षा र गोपनीयताको नारालाई अन्तर्राष्ट्रियकरण गर्दै विदेशी पुँजीको आगतमा वृद्धि गर्ने नीति लियो। 

प्राप्त पुँजीलाई हतियारको रूपमा उपयोग गर्दै औद्योगिक प्रवद्र्धन तथा आर्थिक कृयाकलापको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने लक्ष्य थियो। त्यसमार्फत् आफूलाई पनि फ्रान्स, स्पेन र बेलायतजस्तै एम्पायरका रूपमा खडा हुने परिदृष्यका साथ युरोपमा शक्ति सन्तुलन कायम राख्ने रणनीति अख्तियार गरी मध्यम वर्गमा त्यस्तो सोच र जागरुकता पैदा गराइयो।

स्विट्जरल्यान्डले यो सोच कार्यान्वयन गर्ने/गराउने क्रममा स्विस बैंकले जर्मनीका यहुदी र नाजी जाति तथा उनीहरूका अनुयायीहरूसँग पनि सहकार्य गरी नगद र सुन जिम्मा लियो। एडोल्फ हिटलर स्वयंले युनियन बैंक अफ स्विट्जरल्यान्डमा जम्मा गरेको ११ अर्ब जर्मनी मार्क अमेरिकाले सन् १९९० को दशकमा औपचारिक रूपमा माग गर्‍यो। त्यसमध्ये ४० करोडदेखि ७० करोड अमेरिकी डलरबराबरको जर्मनी मार्क फिर्ता पठाएको थियो। 

प्रथम विश्वयुद्धले निम्त्याएको राजनीतिक अस्थिरता र आर्थिक मन्दीले खासगरी युरोपमा एकातर्फ राज्यहरूले करको दर र दायरामा वृद्धि गर्न थाले भने अर्कोतर्फ युद्धग्रस्त मानसिकतामा पिरोलिएका युरोपका कुलीन वर्गलाई आफ्नो सम्पत्तिको सुरक्षा र गोपनीयताको समस्याले सतायो। यही मौका छोपेर विश्वयुद्धमा तटस्थताको नीति अबलम्वन गरेको स्विट्जरल्यान्डले कुलीन वर्गको सम्पत्तिको सुरक्षा र गोपनीयताको प्रत्याभूति दिन सकेमा ठूलो मात्रामा पुँजी भित्रिन सक्ने सम्भावनालाई आकलन गरेर 'ट्याक्स अभ्वाइडेन्स' र बैंकिङ गोपनीयताबारे युरोपमा व्यापक प्रचारप्रसार गरायो।

र, सन् १९३४ मा लेखबद्ध मूल कानूनको रूपमा 'दी फेडरल एक्ट अन बैंक एन्ड सेभिङ बैंक' जारी गर्‍यो। बैंकिङ सुरक्षा र गोपनीयताबारेमा उक्त कानूनले दिएको प्रत्याभूतिप्रति युरोपका कुलीन वर्गको विश्वसनीयताले स्विस बैंकमा पुँजी जम्मा गर्ने अभियान युरोपमा मात्र सीमित नरही विश्वभर प्रज्वलित हुन पुग्यो। परिणामस्वरूप स्विट्जरल्यान्ड 'ग्रान्ड फादर अफ दी बैंकिङ सेक्रेसी'बाट विभुषित बन्न पुग्यो। 

हालसम्म यो कानून सातौं पटक संशोधन भइसकेको छ। बैंकिङ सुरक्षा र गोपनीयताको क्षेत्र र दायरालाई अझ बढी फराकिलो बनाउने प्रक्रियागत विषयहरू 'स्विस सिभिल कोड'मार्फत् धेरै पटक पुनरावलोकन भएका छन्। बीसौं शताब्दीको मध्यतिर स्विट्जरल्यान्ड विश्वको सबैभन्दा ठूलो अफसोर आर्थिक केन्द्र र ट्याक्स हेभेन मात्र नभई विश्वभरका धनीहरूका लागि स्विस बैंक 'सुरक्षित र गोपनीय' बन्न पुग्यो। विश्वको प्रमुख ट्याक्स हेभेन मुलुकमध्ये स्विट्जरल्यान्ड तेस्रो पंक्तिमा पर्न आउँछ।

राजनीतिक तथा कूटनीतिक विश्लेषकले स्विस महासंघको 'तटस्थ परराष्ट्र नीति'लाई नै स्विस बैंकको विकासको मूल कारण र आधार मानेका छन्। दुवै विश्वयुद्धमा 'तटस्थताको नीति'प्रति कटिबद्ध रहेको, हालसम्म  युरोपियन युनियनको सदस्य नभएको र संयुक्त राष्ट्रसंघको स्थापनाको ४७ वर्षसम्म पनि सदस्यता ग्रहण नगरी प्रस्तुत गरेको तटस्थताको उदाहरणको पृष्ठभूमिमा विश्वभरका केन्द्रीय बैंकहरूलाई आपसी सहयोग र सहजता उपलब्ध गराउन सन् १९३० मा स्थापित अन्तर्राष्ट्रिय संगठन 'दी बैंक अफ इन्टरनेसनल सेटलमेन्ट्स'को प्रधान कार्यालय वासेलमा चयन हुन पुग्यो। विश्वयुद्धमा शत्रुराज्य भएका राष्ट्रहरूबीचको सम्बन्धमा सुमधुरता ल्याउने उद्देश्यसमेत निहित थियो।

गोपनीयता भंग- गम्भीर सामाजिक/आर्थिक अपराध

जेनेभास्थित फ्रेन्च बैंक, इटालीको लुगानो बैंक र जुरिचस्थित जर्मन बैंकमा ग्राहकको सूचनाको गोपनीयता भंग गर्ने कामलाई देवानी अपराधको रूपमा मानिएको छ। सन् १९३४ मा स्विस सरकारले 'दी फेडेरल एक्ट अन बैंक एन्ड सेभिङ बैंक' नामको लेखबद्ध रूपमा जारी गरेको संघीय तथा मूल कानूनले बैंकको ग्राहकसम्बन्धी सूचनाको गोपनीयता भंग गर्ने कामलाई फौजदारी अपराधको रूपमा परिभाषित गर्‍यो। ३ डिसेम्बर २००८ मा संघीय सभाले बैंकिङ सूचनाको गोप्यता भंग गरेको कसूरका लागि कैद र जरिवानाको सीमा वृद्धि गरी ६ महिनादेखि पाँच वर्षसम्म कैद र अढाइ लाख स्विस फ्र्यांक जरिवाना हुने व्यवस्था गरेको छ।

स्विस सिभिल कोडको धारा २७ ले कुनै पनि बैंक र फाइनान्स इन्स्टिच्युसनहरूलाई विदेशी सरकारसँग पत्राचार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।

ग्राहकले स्विस बैंकमा डिपोजिट गरिएको सुन, हीरा र जवाहरातजस्ता बहुमूल्य वस्तु तथा सम्पत्ति भण्डारणका लागि पहाडको फेदीमा भूमिगत बंकर निर्माण भएका छन्। सेनाका लागि निर्मित बंकरमध्ये १० वटा बैंकको उपयोगमा सरकारले सन् १९८०-१९९० को दशकमा बिक्रीमा राखेकामा ६ वटा बंकर बैंकले खरिद गरी प्रयोगमा ल्याएका छन्। बंकरहरू विशेष स्थान र सुरक्षित किसिमबाट निर्माण गरिएका छन्। बंकरमा पुग्नका लागि धेरै ठाउँबाट 'क्लियरेन्स' लिनुपर्छ। कतिपय बंकरमा सडक र पैदलबाट पुग्न सकिँदैन, जहाजकै प्रयोग गर्नुपर्छ। 

स्विट्जरल्यान्डको अधिकांश बैंकमा ग्राहकको पहिचान नामबाट नभई बहुअंकमा लेखिन्छ, जसको पहिचान सम्बद्ध ग्राहक र बैंकलाई मात्र थाहा हुन्छ। पहिचानका लागि दिइएको बहुअंकलाई पनि अर्को तहको अंक जोडिएको हुन्छ। कुनै बैंकले ग्राहकको पहिचान उसको वास्तविक नामको नभई कोड प्रयोग गरेको हुन्छ। तर, कुनै पनि ग्राहकले बैंकमा सम्पत्ति डिपोजिट गर्दा लामो र जटिल कानूनी प्रक्रिया पूरा गर्नुपर्छ। झुटो विवरण पेश गरी खाता खोल्ने कुनै सम्भावना रहँदैन। साथै, डिपोजिट गर्न लागेको सम्पत्ति वैध रूपमा प्राप्त गरेको प्रमाणित गर्नुपर्छ। 

सन् १९९० मा स्विट्जरल्यान्डको राजनीतिक तथा सामाजिक शक्तिले बैंकका ग्राहकको व्यक्तिगत सूचनाको गोपनीयता भंग गर्ने कार्यलाई गम्भीर सामाजिक तथा आर्थिक अपराध मानेको छ। स्विट्जरल्यान्डभित्र वा बाहिर स्विस बैंकमा कार्यरत कुनै पनि कर्मचारीले बैंकिङ गोपनीयतासम्बन्धी अलिखित कोडलाई चिकित्सक र पादरीले जस्तै आदरपूर्वक पालन गर्नुपर्छ। सन् १९९७, २००७, २०११ र २०१४ मा चार पटक बैंकिङ गोपनीयता भंग गरेको आरोपमा सम्बद्ध कर्मचारीलाई संघीय सरकारले गिरफ्तार गरी कानूनी कारवाहीस्वरूप नोकरीबाट बर्खास्त तथा जरिवाना गरेको थियो। 

स्विस बैंकको गोपनीयताको नीति कमजोर बनाउने युरोपेली मुलुक र अमेरिकाको अथक प्रयासका बावजुद अझ कठोर बन्दै स्विट्जरल्यान्ड।


बैंकिङ सेक्रेसी, अन्तर्राष्ट्रिय दबाब र प्रयास

स्विस बैंकर्स एसोसिएसनले सन् २०१८ मा अमेरिकी डलर ६.५ ट्रिलियन अथवा विश्व बजारको कूल सम्पत्तिको २५ प्रतिशत सम्पत्ति स्विस बैंकको होल्डमा रहेको अनुमान गरेको छ। युनियन बैंक अफ स्विट्जरल्यान्ड, क्रेडिट स्विस र जुलियस वारसमेत त्यहाँका मुख्य तीन बैंकको नियमन स्विस फाइनान्सियल मार्केट सुपरभाइजरी अथोरिटीबाट हुन्छ। स्विस नेसनल बैंकलाई संघीय संरचनागत रूपमा अधिकार प्राप्त छ। सन् १९८० देखि १९९० को दशकमा स्विस बैंकको गोपनीयतासम्बन्धी कानूनी प्रावधान सरल र न्यूनीकरण गर्न धेरै प्रकारका अन्तर्राष्ट्रिय प्रयासको बावजुद पनि स्विट्जरल्यान्डले आफ्नो नीतिमा लचकता अपनाएन।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि युरोपियन युनियनले कर छलीको कसूरलाई बढी गम्भीरताका साथ हेर्न थालेपछि स्विट्जरल्यान्डले 'युरोपियन युनियन सेभिङ ट्याक्स डाइरेक्टिभ'मा हस्ताक्षर गर्‍यो। जसका कारण व्यक्तिको विवरण र परिचय नखुल्ने गरी युरोपका ४३ वटा मुलुकमा वार्षिक ट्याक्स प्रतिवेदन पेश गर्नुपर्ने दायित्व वहन गर्नुपर्ने भयो। 

सन् २००८ मा अमेरिकामा कर छलीको आरोपमा एक अमेरिकी नागरिक तथा बैंक व्यवसायी विर्केनफिल्डमाथि अनुसन्धान गरियो। निजले दिएको बयानका आधारमा स्विट्जरल्यान्डको भूमिकाका बारेमा बहुराष्ट्रिय अनुसन्धान भयो। उक्त अनुसन्धानबाट प्राप्त निष्कर्षबमोजिम स्विट्जरल्यान्ड र अमेरिकी जस्टिस डिपार्टमेन्टबीच 'डिफर्ड प्रोसिक्युसन एग्रिमेन्ट' भयो। त्यसअनुसार कानूनी कारवाही चलाउने वा नचलाउने विषय प्रोसिक्युटरको स्वेच्छामा निर्भर रहने भयो। 

चार हजारभन्दा बढी ग्राहकको बारेमा सूचना प्रवाह गर्नुपर्‍यो। विर्केनफिल्डसहितका कसूरदारलाई समेत अमेरिकी अदालतबाट जरिवाना र कैद तोकियो। अर्कोतर्फ विर्केनफिल्डले अमेरिकी कम्पनी र बैंक ठगी तथा कर छलीसम्बन्धी कसूरको बारेमा राज्यलाई 'ह्विस्टिल ब्लावर'को हैसियतमा सूचना दिएकाले त्यसबमोजिम सुविधा दाबी गर्दा अमेरिकी सरकारबाट आर्थिक लाभ उपलब्ध गराइयो। तर, विर्केनफिल्डले स्विट्जरल्यान्डको यूबीएस बैंकका ग्राहकहरूको सूचनाको गोपनीयता भंग गरेको आरोपमा स्विट्जरल्यान्डको कानून उल्लंघन गरेको आरोप कायमै छ। डिफर्ड प्रोसिक्युसन एग्रिमेन्टअनुसार कानूनी कारवाही चलाइएको छैन।

स्विट्जरल्यान्डको संसदबाट दुई पटक भएको अस्वीकृतिको बावजुद पनि अमेरिकासँग 'फरेन एकाउन्ट ट्याक्स कम्प्लायन्स एक्ट'मा हस्ताक्षर गरेको छ। त्यसअनुसार परिचय नभएका अमेरिकी ग्राहकसँग सम्बन्धित सूचना अमेरिकी 'इन्टरनल रेभेन्यु सर्भिस'लाई वार्षिक रूपमा उपलब्ध गराउनुपर्ने दायित्व स्विस बैंकले वहन गर्नुपर्ने भयो। तर, ग्राहकले बैंकलाई सहमति नदिएको अवस्थामा करसँग सम्बन्धित सूचना अद्र्धस्वचालित रूपमा प्रवाह गर्नुपर्ने प्रत्याभूति सम्झौताले गरेको छैन। सन् १९३४ को स्विस कानूनको दफा ४७ ले बैंकिङ गोपनीयताको बारेमा विस्तृत व्यवस्था गरेको छ। ग्राहकको सहमतिबिना सूचना प्रवाह गर्न प्रतिबन्ध लगाउँदै त्यसविपरितको कार्यलाई संघीय अपराधको परिभाषाभित्र पारेको छ।

स्विस बैंकमा खाता रहेका विदेशी नागरिकले कर बक्यौता नरहेको अवस्थामा उनीहरूसँग सम्बद्ध सूचनाको गोपनीयता कायम राख्ने गरी सन् २०१५ मा स्विट्जरल्यान्डले जर्मनी, अस्ट्रिया र बेलायतसँग 'रुबिक एग्रिमेन्ट'को नामबाट द्विपक्षीय सम्झौता गरेको छ।

सन्  २०१७ मा 'इन्टरनेसनल कन्भेन्सन अन दी अटोमेटिक एक्सचेन्ज अफ बैंकिङ इन्फरमेसन'को पक्ष बनेपछि कर परीक्षणसँग सम्बन्धित 'कमन रिपोर्टिङ स्टायान्डर्ड (ग्राहकको परिचय, बैंक एकाउन्ट नम्बर खातामा जम्मा रहेको रकम र लगानी भएको कूल रकमजस्ता सीमित सूचनाहरू) केही निश्चित मुलुकका कर अधिकृतलाई स्वचालित रूपमा प्रवाह गर्नुपर्ने कुरामा स्विट्जरल्यान्ड सहमत भएको छ। 

तर, यो महासन्धिको प्रावधानले स्विट्जरल्यान्डको सन् १९३४को बैंकसम्बन्धि कानूनी व्यवस्थालाई कुनै असर नपार्ने हुनाले ग्राहकको लगानी र खर्चको भने गोपनीयता कायमै रहनेछ। कर छली गरेको भनी कर अधिकृतको स्वेच्छाबमोजिम कसैको विवरण माग गर्न नसकिने, ग्राहकको खाताबाट आर्थिक अपराध गरेको देखिएको आधारमा सूचना प्रवाह गर्न सकिने र त्यस्तो सूचना कर परीक्षणबाहेक अन्यत्र प्रयोग गर्न नपाइने व्यवस्था छ। अन्यथा, स्विस अधिकारीले त्यस्तो सूचना प्रवाहमा रोक लगाउन सक्नेछन्। 

अटल नीति

सन् १७१३ मा ग्रेट काउन्सिल अफ जेनेभाले युरोपेली कुलीन वर्गसँग सम्बन्धित सूचनाको गोपनीयता भंग गर्न प्रतिबन्ध लगायो। त्यसपछि बैंकिङ प्रणालीलाई बढी सुरक्षित र गोपनीयताका साथ अगाडि बढाउने स्विट्जरल्यान्डको अवधारणा साथ अभियान शुरु भयो। झण्डै २१ वर्षपछि सन् १७३४ मा कानून बनाएर मूर्त रूप दिएको झण्डै ५५ वर्ष भएको छ। यस अन्तरालमा व्यापार र व्यवसायको सिलसिलामा विश्वभरका मानिसको एकअर्को देशमा हुने गतिविधि अत्यधिक रूपमा बढेको छ। राष्ट्र-राष्ट्रबीचको व्यापार, क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको नियमन, धनाढ्य वर्गबाट कर छल्न आम्दानी लुकाउने, अवैध कृयाकलापबाट आर्जेको सम्पत्ति लुकाउने प्रवृत्ति बढ्दो छ। दोहोरो कर प्रणालीलगायत सूचना तथा प्रविधिको विकासले विश्वलाई नै एउटा गाउँमा परिणत भएको छ। 

विश्व परिवेशमा आएको ठूलो परिवर्तनको नाममा स्विस बैंकको गोपनीयताको नीतिलाई कमजोर बनाउन युरोपेली मुलुकहरू र अमेरिकाले समेत यसविरुद्ध ठूलो प्रयास नगरेका होइनन्। त्यसका बावजुद स्विट्जरल्यान्डले आफ्नो नीतिमा पुनरावलोकन गर्नुको साटो अझ बढी कठोर बनाउने बताउँदै आएको छ। 

डिसेम्बर २०१७ मा स्विस संसदले बैंकिङ कारोबारको गोपनीयताका विषयहरू स्वचालित रूपमा ट्रान्सफर हुनबाट पूर्ण प्रतिबन्ध लगाउन स्विस बैंकहरूलाई 'स्ट्यान्डिङ इनिसिएटिभ' आदेश जारी गर्दै बैंकिङ गोपनीयतालाई संवैधानिक हकका रूपमा स्विट्जरल्यान्डको संविधानमै समावेश गरी संघीय रूपमै संरक्षण गर्ने स्पष्ट गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बालकदेखि वृद्धसम्मकी 'आमा' सरु

बालकदेखि वृद्धसम्मकी 'आमा' सरु

तुलसालय अनाथाश्रमकी सरु सुवेदी अहिले स्वयं त्यस्ता घर बिर्सेका, घरबारबाट परित्याग गरिएका, सडकमा अलपत्र परेका र पारिएका थुप्रै बाल–वृद्धकी अभिभावक भएकी छन्। सबैकी ‘आमा’ भएकी...
चुनौतीका बीच संविधानले जगाएको आशा

चुनौतीका बीच संविधानले जगाएको आशा

संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र संख्यामा गणना हुने सातौं संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो। 
शिक्षाको मौलिक हक कागजमा सीमित

शिक्षाको मौलिक हक कागजमा सीमित

समाजवादोन्मुख संविधानको परिकल्पनाअनुसार शिक्षाका अधिकारको कार्यान्वयनमा पूर्णता नहुँदा शिक्षाको मौलिक हक केवल संविधान र कानुनका कागजमा सीमित भएका छन्।
गणेशमानको सालिकले २३ वर्षपछि पाएको पूर्णता

गणेशमानको सालिकले २३ वर्षपछि पाएको पूर्णता

सो सालिक एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो रहेको छ।
यसकारण आवश्यक छ संविधान संशोधन

यसकारण आवश्यक छ संविधान संशोधन

वर्तमान संविधानका तीन प्रमुख विशेषता भन्नु संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र हुन्। यी तीनै गम्भीर विषय अझै विवादित छन्।