काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी-२० वरीयतामा नेपाल १३औं स्थानमा झरेको छ। ओमानमा सोमबार सम्पन्न चारदेशीय टी-२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो। यसअघि नेपाल १२औं स्थानमा थियो।
नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो। तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो। सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो।
आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेर यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ। एसोसिएटमा यूएई सबैभन्दा अघि रहेको छ। नेपालपछि स्कटल्याण्ड १४औं स्थानमा छ भने टेष्ट नेसन आयरल्याण्ड १५औं स्थानमा छ। ओमान १८औं स्थानमा छ।
नेपाल, ओमान, यूएई र आयरल्याण्ड यही फेब्रअरी १८ देखि हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए खेल्दैछन्। इंग्ल्याण्ड टी-२० वरीयताको शीर्ष स्थानमा छ भने भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा छ।