काठमाडौं-सरोकारवाला सबैको सहयोग भए १३ औं सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै आयोजना गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन् ।
नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रीत रहि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको काठमाडौंमा शनिबार बसेको बैठक अध्यक्ष श्रेष्ठले यसो बताएका हुन ।
अध्यक्ष श्रेष्ठले सम्बोधन गर्दै एनओसी र राष्ट्रिय खेल संघहरुको ध्यान १३ औं सागमा पूर्ण रुपमा केन्द्रीत रहेको जानकारी गराउदै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो दिएको बताए ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेको हो । बैठकमा भुटान बाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्र सहभागी थिए ।
उनले सरकारले सागका लागि बजेट समेत विनियोजन गरेको बताउदै विगतको तुलनामा खेलकुदको बजेट झन्दै दोब्बरले बृद्धि भएको बताए । उनले १३ औं साग आयोजनाको जिम्मेवारी दिएकोमा दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीलाई धन्यवाद दिदै १३ औं सागलाई सफल र यादगार बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
दशरथ रंगशाला निरीक्षण
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण गरेका छन् ।
नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगति बारे जानकारी लिनुका साथै कभर्डहल र टेनिस कोर्टको निरीक्षण गरे ।
टोलीलाई सदस्य–सचिव विष्ट, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्याय, इन्जिनिएरद्वय तिलोत्तमा बस्याल र विश्वमित्र सन्जेलले कार्य प्रगति बारे जानकारी गराएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४