धनगढी- सुदूरपश्चिम प्रदेशमा १६ दिनपछि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा डोटीको शिखर नगरपालिका वडा नम्बर ३ की ६५ वर्षीया महिला र दीपायल सिलगढी नगरपालिका-१ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
मृतक महिलाको साउन १७ गतेदेखि अस्पतालको आईसीयूमा उपचाररत रहेको र पुरुष साउन २१ गतेदेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
सुदूरपश्चिम प्रदेशमा साउन ६ गतेयता कोरोना संक्रमितको मृत्यु भएको थिएन। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका अनुसार साउन ५ गते कञ्चनपुरका ६५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो।
अस्पतालमा थपिँदै कोरोना संक्रमित
सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा हाल २९ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। उनले अस्पतालमा उपचाररतमध्ये दुई जनाको भेन्टिलेटर र ५ जनाको आईसीयूमा उपचार भइरहेको बताए।
बिहीबारसम्मको तथ्यांकअनुसार सुदूरपश्चिमका अस्पतालमा ५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ६ जनाको भेन्टिलेटर र ९ जनाको आईसीयूमा उपचार भइरहेको छ। प्रदेशमा हालसम्म ५७८ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ।