काठमाडौं- ए डिभिजन लिगको ७० औं खेलमा चार सय दर्शकमाझ संकटा क्लबले विभागीय टिम एपीएफसँग गोलरहित बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार साँझ सम्पन्न खेलमा मिडिल टेबलका दुई टिमले बराबरी खेलेका हुन्।
खेलमा बराबरी गरेपछि पाएको अवसरलाई सदुपयोग गर्न नसकेको एपीएफका प्रशिक्षक कुमार थापाल बताएका छन्। ‘हामीले धेरै अवसर पाएका थियौं। तर त्यसलाई सदुपयोग गर्न सकेनौं। सदुपयोग गर्न सकेको भए हामीलाई आगामी यात्रा सहज हुने थियो,’ उनले भने।
खेलको २८औं मिनेटमा एपीएफका संकटाका आभाष लामिछानेले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार गोलकिपरले बचाएका थिए। खेलको ८४ औं मिनेटमा एपीएफले पेनाल्टी बक्स नजिकै फ्रि-किको अवसर पाएको थियो। जहाँ एपीएफलका दिपेश आले मगरले प्रहार गरेको फ्रि किक गोलकिपर राजुबाबा थापाले बचाएका थिए।
यता, खेलको ८७ औं मिनेटमा बक्सभित्रै एपीएफले गोलको निकै सुनौलो अवसर पाए पनि युवराज खड्काले गोल गर्न सकेनन्। गोलकिपर थापा पोस्टको फ्रेमबाट बाहिर रहेको अवस्थामा उनी गोल गर्न चुके।
यता, अर्को मिनेटमा एपीएफले पुन फ्रि-किक पाए पनि त्यो बल थापाले मुश्किलले बचाएका थिए। खेलमा संकटाले पनि दोस्रो हाफको सुरुमा धेरै दबाब बनाएको थियो।
संकटाका खेलाडीले प्रहार गरको बलको उत्कृष्ट बचाउ गरेका एपीएफका गोलकिपर युया कुरियामा म्यान अफ दी म्याचसमेत बनेका थिए। ‘हामीले धेरै अवसर खेर फल्यौँ। त्यसलाई सदुपयोग गर्न सकेको भए राम्रा हुन्थ्यो,’ खेलपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले भने।
औसत सुरु भएको खेलको अन्तिम केहि मिनेट भने उच्च प्रतिस्पर्धा भएको थियो। तर दुबै टिम गोल गर्न असफल रहे। यो बराबरीसँगै संकटा क्लबले १५ अंक बनाएको छ भने एपीएफले १० अंक बनाएको छ। लिगमा रेलिगेसन जोनमा लामो संघर्ष गरेर अघि आएको एपीएफ अहिले रेलिगेसनभन्दा धेरै माथि पुगिसकेको छ। आजको बराबरीसँगै एपीएफ नवौं स्थानमा कायम छ।
रेलिगेसन जोनभन्दा माथि पुगे पनि आफू पूर्ण रुपमा सुरक्षित नभएको प्रशिक्षक थापा बताउँछन्। ‘आजको खेलमा जित निकालेको भए हामी सुरक्षित हुन्थ्यौं। १३ अंक भनेको अहिलेलाई सुरक्षित हो। तर बराबरीले हामीलाई अघिल्लो खेलमा पनि दबाब दिने पक्का छ,’ उनले भने।