काठमाडौं - प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल, खुमल्टारले इन्टरनेशनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) बाट पूर्ण सदस्यता प्राप्त गरेको छ ।
आईएसएफको स्वीकृतिमा नेपाल विद्यालय खेलकुद महासंघले प्रिमियरलाई पूर्ण सदस्यता प्रदान गरेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफ टेक्निकल कमिसनका संयोजक राजकुमार कार्कीले जनाएका छन्। आईएसएफको पूर्ण सदस्यता पाउने प्रिमियर नेपालकै पहिलो विद्यालय भएको बताइएको छ। स्वस्तिश्री आईबी वर्ल्ड स्कुल र ब्राइट फ्युचर सदस्य मात्र हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापालाई आइतबार प्रिमियरमै आयोजित एक कार्यक्रमबीच आबद्धताको प्रमाण पत्र प्रदान गरे। महासचिव कार्कीले जनाए अनुसार अब प्रिमियरले आईएसएफले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष कोइरालाले शिक्षासँगै खेलकुदलाई पनि उत्ति नै महत्व दिएर विद्यालय हातामै विभिन्न खेलका पूर्वाधार निर्माण गरेर खेलकुदलाई उच्च महत्व दिएकोमा प्रिमियरको प्रशंसा गर्दै पूर्ण सदस्यता प्राप्त गरेकोमा बधाइ दिए।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सहअध्यक्ष डिके ढुंगाना, नेपाल विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशी र महासचिव कार्कीले प्रिमियरलाई पूर्ण सदस्यता पाएकोमा बधाइ दिए। आईएसएफका अध्यक्ष लाउरेन्ट प्याट्रिङले पनि भिडियो सन्देशमार्फत प्रिमियरलाई बधाइ दिएका थिए।
प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापाले पूर्ण सदस्यता प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनमा विद्यालयले खेलकुदमा अझ बढी ध्यान दिने बताए।
सोही अवसरमा श्रीलंकाको कोलम्बोमा हुने जुनियर बिली जिन किङ कपमा सहभागी हुने लनटेनिस खेलाडी प्रशंसा मोक्तानलाई सफलताको शुभकामना दिँदै विदाई गरिएको थियो। प्रशंसा प्रिमियरमै कक्षा ८ मा अध्ययनरत छन्।