बुधबार, असार ३१, २०८३

'हिरो' बन्‍न वीरेन्द्रको ३० वर्षे संघर्ष 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इच्छाहरूले नै बाटो पहिल्याउँछन्। र, सपनाहरूले हिँड्न सिकाउँछन् मान्छेलाई। त्यस्तै सपनाहरू बोकेर ‘बीरु’ उपनामले परिचित रंगकर्मी वीरेन्द्र हमाल ०३८ सालतिर नेपालगञ्जबाट राजधानी आएका थिए। 

गाउँमा नौटंकी र रामलीला खुब लाग्थ्यो। नेपालगञ्जको गर्मी पनि रात पर्दै गएपछि बढ्थ्यो। अवधी बस्तीका बासिन्दाहरू गर्मी बिर्सन अँधेरी रामलीला हेर्न जान्थे । त्यही भीडमा मिसिएर रामलीला र नौटंकी हेर्न उनी पनि पुग्थे । हमाल भन्छन्, ‘कडा अनुशासनबीचमा हुर्के पनि म रामलीला हेर्न पुगिहाल्थें।’

दशैंतिर नाटकमा रावण मार्ने गरिन्थ्यो। भरत मिलापका नाटक हुन्थे। शायद ती केवल मनोरञ्जनका लागि हेरिन्थे। त्यही माहोलमा बाल्यकाल बिताउँदै रमाएका हमाल दिल्ली पढ्न गए। नेरु इन्टरनेसनल स्कुलमा भर्ना भए। त्यहाँ उनी बंगाली शिक्षकसँग नजिकिए। उनी ड्रामाका कक्षाहरूमा ‘लाउड्ली’ पढाउँथे। स्कुलका हरेक कार्यक्रममा हमालले सहभागिता जनाउँथे। त्यहींबाट नाटकतिर खिचिन थाले।

विस्तारै उनलाई नाटकको रस लाग्न थाल्यो। नेपाल आएर एनएचडी दिल्ली पढ्न चाहे। जहाँ सुनिल पोखरेल पढ्न गएका थिए। उनी ‘एक्टिङ’ पढ्न छात्रवृत्ति मिलाउन चाहन्थे। 

संयोगवस उनी दुर्घटनामा परे। र, एनएचडी पढ्न जान पाएनन्। उनको मन साह्रै बिरक्तियो। सपनाहरू कहिलेकाहीं बीचैमा तुहिएपछि मनमा अनेकन कुर खेल्छन् नै। उनी पनि केही समय अन्योलमा परे। 

बाल्यकालमा उनी अलिकति बदमास थिए। उनका बुवा महेन्द्र हमाल एकदमै राम्रा गीत लेख्थे। कोरियोग्राफ पनि गर्थे। यस्तैमा तीन कक्षा पढ्दैदेखि उनी अपांग भए। अपांगताका बाबजुद पनि उनीभित्रको कलाले नाटक दुनियाँतिर तानिरहन्थ्यो ।

वीरेन्द्र हमालले संघर्षको नाममा गर्नुपर्ने हथकण्डा गरेनन् । बरू उनले मिहिनेत गरे ।



पारिवारिक माहोलका कारण कला-संगीतलाई बहुत सम्मान गर्थे। उनकी दिदी सुष्मा शाही ‘बदलिँदो आकाश’की हिरोइन थिइन्। शाहीले हरिहर शर्मालाई चिनाइ दिइन्। एकेडेमीका हरिहर शर्माले उनलाई डोर्‍याए नेपाल प्रज्ञा प्रतिष्ठानतिर। अवसर गुमाउनु पर्दा उनी पीडाले चुर भएर रोए । तर, उनका सपनाहरू ‘उडायो सपना सबै हुरीले’ भइसकेका बेला हरिहर शर्मा आइपुगे। उनी भन्छन्, ‘एनएचडी गुमाएँ तर हरिहर शर्मा गुरु पाएँ।’

लंगौटिया यार नयनराज पाण्डेय

वार्षिक रूपमा अभिनयको कक्षा दिइन्थ्यो एकेडेमीमा। र, अभिनय सिकाउँथे हरिहर शर्माले। उनी भन्छन्, ‘हरिहर गुरुकै कारणले मेरो जीवनमा नयाँ मोड आयो। उहाँ भगवान् बनेर आइदिनुभयो।’ 

आफूले चाहेको ठाउँमा उनी जान त सकेनन् । त्यही अधुरो सपनालाई एकेडेमीमा पूरा गर्न थाले । उनी कडा मिहिनेत गर्न थाले । एनएचडी जाने सपनालाई ‘लार्जर देन लाइफ’ले हेर्न थाले। विस्तारै उनको अभिनय निखारिन थाल्यो । क्रमशः एकेडेमीको प्रिय कलाकार बन्न थाले ।

नाटक खेल्दै ललितकलामा नाटक पनि पढ्न थाले। कलेजका प्रत्येक कार्यक्रममा उनले नाटक गर्थे। विस्तारै नाटक बुझ्न थाले। 

‘२०४० सालतिर नेपाली नाटकमा बलिउड–हलिउडको प्रभाव खुबै थियो,’ उनी सम्झिन्छन् । नेपालमा नाटक पनि फिल्मजस्तो उनलाई लागेको थियो । नक्कल उस्तै–उस्तै थियो।

उनले देखेका नाटकहरूमा माइकल ज्याक्सनको ‘डान्स’ भेट्थे। विवाह पार्टीको जस्तो ‘डान्स’ भेट्थे। ‘डिस्को’ देखिन्थ्यो नाटकमा। जीवनका पाटाहरू रमाइलो गरी बिते। उनी भन्छन्, ‘शायद मैले पहिलोपटक खेलेको नाटक नयनराज पाण्डेको हो। र ऊ मेरो लगौंटिया यार पनि हो।’

होचो कदका अग्ला कलाकार

२०४३ सालपछि उनी ड्रामा फेस्टिभलतिर लाग्न थाले। मार्ग, विकल्प, टाँगेको जिन्दगी, चरणले नाघेकोजस्ता नाटकहरू उनले खेलिसकेका थिए। त्यसले उनलाई नाटकको भोक थप जाग्दै लग्यो। उनले नाटकको रङ चिन्न थाले।

२०४३ देखि ०४७ सम्म उनले नाटक मात्रै खेले, जसले उनलाई नेपाली ‘ड्रामा’को भीडमा उभ्याइदियो । मिडियाहरूले उनलाई पछ्याउन थाले। 

कामले काम सिकाउँदै लग्यो। विस्तारै उनले अधिकार, काला खोला, सोरठीजस्ता नाटकहरूबाट धेरै अवार्ड हात पारे। बेस्ट एक्टर, बेस्ट नाटक, बेस्ट डाइरेक्टरजस्ता अवार्डहरू आफ्नो पोल्टामा हाले। 

उनीभित्र नाटकमा आत्मविश्वास बढ्दै गयो। आफ्नै मिहिनेतले उनी अगाडि बढ्न चाहे। पहिलोचोटी उनले ‘एक्टिङ’ सिकाउन थाले। उनले खोले, एम आर्ट थिएटर। र, त्यसमा विस्तारै नाटकको माहोल तातिन थाल्यो। 

नयाँ बानेश्वरको उनको थिएटरबाट सौगात मल्ल, कमलमणि नेपाल, राजन खतिवडा, सरिता गिरीजस्ता कलाकार जन्मिए । तिनै कलाकार अहिलेका चर्चित नायक सौगात मल्ल र सरिता गिरी हुन् । उनी यसैक्रममा ०४६ सालतिर ‘चाइना फिजिकल थिएटर’मा पुगे । र, नाटकको बृहत् कला सिक्न पाए । ०५१÷५२ सालतिर उनी पढ्न बंगालादेश गए । 

बंगलादेशबाट फर्किएर ०६० को दशकदेखि उनी गुरुकुलतिर गए। थिएटरकै ‘इलिमेन्ट’मा काम गर्नुपर्छ भन्ने लाग्यो। केही ‘इलिमेन्ट’ले ड्रामा र फिल्म छुटियो। यही क्रममा अर्का नाट्यकर्मी सुनिल पोखरेलले गुरुकुल आरोहण थाले। वीरेन्द्रले सक्दो सहयोग गरे। उनी भन्छन्, ‘त्यही बेला एम आर्ट थिएटर रोकेर एम आर्टका कलाकारहरू गुरुकुल आरोहणलाई दिएँ।’

ड्रामा र फिल्म

फिल्ममा एकछत्र थिएटर आर्टिस्ट आइरहेका छन्। थिएटर आर्टिस्टले जे गर्दा पनि एक्टिङ देखिने भएको छ । आखिर किन आकर्षित भएका छन् ? उनी भन्छन्, ‘फिल्म भनेको अन्तिम माध्यम हो। पर्दालाई समाएर माथि उक्लिन चाहन्छन्।’

कुनै बेला उनी फिल्म पनि खेल्थे। उनले निर्देशन गरेको फिल्म सारांश लन्च हुन बाँकी छ। थिएटर आर्टिस्टलाई कति अभिनयमा डुबाउन सक्छन् फिल्मका निर्देशकले भन्नेमा उनी अन्योल मान्छन्। थिएटर आर्टिस्ट लिएर सही निर्देशन गराउन निर्देशकले नसकेकोप्रति उनको गुनासो पनि छ। राम्रै निर्देशकहरू चुकेको देख्छन्। फिल्ममा ‘लाउड एक्टिङ’ कम हुन्छ। उनी भन्छन्, ‘यसको पनि मापदण्ड हेर्नुपर्ने हुन्छ।’

थिएटर आर्टिस्टको नसा-नसामा चरित्र निर्माण गर्न लाग्छन् । उनी भन्छन्, ‘लेखकले लेखेर दिएपछि मर्छ । र, त्यसलाई फेरि व्युँताउने काम आर्टिस्टले गर्ने हो ।’ 

नाटक होस् कि फिल्म, एक्टरले नै सास भरिदिन्छ। बाँकी प्राविधिक ‘इलिमेन्टस्’ थप्ने काम गर्छ। त्यसका लागि दर्शक चाहिन्छ। सिनेमा कलाकारले ‘एक्ट’मा भर पर्ने उनी बताउँछन्। ‘शान्तिको दूध’ भन्नेमा राजेश हमाललाई खेलाएका छन्। उनी भन्छन्, ‘आर्टिस्टले जहाँ पनि पर्पmरमेन्स गर्न पाउनु पर्छ।’ 

विदेशी नाटक मात्रै किन गर्ने ?

शहरमा नाटकहरू दिनदिनै चल्छन्। तर, नेपाली लेखकका भन्दा विदेशी लेखकका नाटक बढी चलिरहेका छन्। एकछत्र विदेशी नाटक मात्रै चल्नुको कारण के रहेछ ? उनी उल्टो प्रश्न गर्छन्, ‘फिल्मको स्क्रिप्टचाहीं लेख्न दिइन्छ। तर, ड्रामा लेखाउन पैसा किन दिँदैनौं?’

नाटक लेख्नकै लागि पैसा किन नदिने ? या नेपाली साहित्यका कथा उपन्यासमाथि ड्रामा बनाउन किन सकिएको छैन ? पैसा दिएर किन लेख्न नलगाउने ? बाहिरको नाटक गरेर आफूलाई एकदमै ठूलो भइटोपलेका निर्देशकहरू छन्।

त्यसो गर्नु बेकार मान्छन् उनी। नेपाली कथा-उपन्यासमा नाटकै गर्न हिम्मत नआएको हो कि भन्नेमा उनको शंका छ। कि नेपाली लेखकका नाटक बढी गरेर चिनिन खोजिएको हो? 

उनको अर्को तर्क पनि छ कि नेपाली कथा चिन्न नसकेको हो कि भन्ने। र, उनको चिन्ता छ, नेपाली लोक शैलीका कथाहरू हामीले उठाउन सकिरहेका छैनौं । उनी भन्छन्, ‘विदेशी लेखकहरूको नाटक मात्रै गरेर अब नेपाली नाटक माथि उठ्न सक्दैन।’ 

धेरै नाटक बाहिरैको खोज्नुको साटो नेपाली नाटक खोज्नुपर्ने उनको बुझाइ छ। नाटककारलाई पनि बाँच्ने माहोल कसरी बनाउने ? सत्यमोहन जोशी, अभि सुवेदी, कुमार नगरकोटीजस्ता लेखकलाई नाटककारको रूपमै स्थापित गर्नुपर्छ भन्ने उनको तर्क छ। 

नाटककारलाई स्क्रिप्ट राइटरलाई झैं पारिश्रमिक दिनुपर्छ । उनी भन्छन्, ‘नाचघरले यो कदम चालिरहेको छ।’ 

‘नाटक फिल्मजस्तो बन्दै गयो’

मुलुकमा १० वर्षे जनयुद्ध चल्यो। धेरै घटनाक्रम फेरबदल भए। शहरका नाटकघरहरू पनि सेलाउँदै गए।

अब नाटकको भविष्यलाई उज्यालो बनाउने कसरी भन्ने चिन्तनले पिरोल्यो, केही नाटककर्मीलाई। उनमा अमेरिका भासिने सोच आउन थाल्यो। यस्तो परिस्थितिबाट गुज्रिरहेको समयमा नाटकर्मीलाई गुरुकुल आरोहणले ठूलो राहत दियो। 

सुनिल पोखरेल, अनुप बराल, पुष्कर गुरुङ र उनी पनि लागिरहे। एकाध–दुई फिल्मले छोए पनि ड्रामालाई माथि उठाउन लागिरहे। नाटकको दर्शक बटुल्नै गाह्रो भएको समयलाई उनी सम्झिन्छन्, ‘हामी फिल्मलाई बिर्सेर नाटकमै एकाग्र भएर लाग्यौं।’

तर, ठीक उल्टो समय चलेको देख्छन्, उनी। अहिले नाटककर्मीहरू फिल्म खेल्छन्। र, नाटक फिल्मजस्तो भइरहेको देख्छन्, उनी । ड्रामामा अनुशासित कलाकारहरू आइरहेका छन्। उनी भन्छन्, ‘नाटक फिल्मजस्तो भइदिँदा पीडा हुन्छ। यस्तो हुनु नाटकलाई धमिल्याउनु हो।’

उनले जीवनमा सोलो नाटक पनि गरे। तर, अहिले विस्तारै हरायो। सोलो नाटक बाक्लो हुन सकेन। कलेजताका पेन्टिङमा उनले ‘वान एक्ट’ पनि गरे। महिनाताका दुई वटा नाटक पनि गर्थे। फाइनल कलेज पढ्न लागेदेखि त कवितामा पनि नाटक गर्थे। उनी भन्छन्, ‘सोलो पर्फरमेन्स केवल एउटा फर्म हो।’ 

‘मार्ग’ नाटकमा उनले सोलो गरे। उनैले सौगातलाई पनि सोलो खेलाए । सरिता, सुशीला, गोरनजस्ता थिएटर आर्टिस्टले पनि सोलो खेले। 

नाटक फिल्मजस्तो हुनु भएन र फिल्म नाटकजस्तो हुनु भएन भन्ने उनको तर्क छ। उनी भन्छन्, ‘ड्रामामा पनि फिल्मी रोग बल्झिन थालेको छ।’

ड्रामामा भेटेको प्रेम

राम्रो कलाकार प्रेमिल भइरहन्छन्। र, दर्शकका जहिल्यै प्रिय हुन्छन्। उनी ड्रामालाई पनि प्रेम गर्छन्। नाटकमा उनी हरेक दिन नयाँ जीवन बाँच्ने कोशिस गर्छन्। 

प्रत्येक नाटकले प्रत्येक पटक नयाँ भएर बाँच्न सिकाउँछ। उनी भन्छन्, ‘नाटकमा पात्र फेरिरहन्छन्, त्यसैगरी जीवन फेरिएझैं लाग्छ।’

प्रेमलाई परिवार चलाउने माध्यम ठान्छन्। उनी दुवै जीवन बाँचिरहेका छन्। जगजाहेर प्रेममा उनी एउटा जीवन बाँचिरहन्छन्। जहाँ खुशी हुने माध्यम पाउँछन्। 

व्यक्ति–व्यक्तिबीचको प्रेम फकाउने र रुवाउने ‘कनेक्ट’ हुन्। हरेक मान्छेको ‘इमोसन’ त एउटै हो। परिस्थिति एकै हुन्छ कि हुँदैन भन्ने मात्रै हो। उनी भन्छन्, ‘मान्छे जोडिने होइन, इमोसन मात्रै जोडिने हो। 

चरित्रलाई आफ्नो जीवनसँग कसरी जोड्ने? र, अरूलाई कसरी छुन्छ भन्ने एक कलाकारले सोचिरहेको हुन्छ। एक्टिङ पढ्ने होइन भन्दै थप्छन्, ‘नाटकमा केवल ग्रामर मात्रै पढ्ने हो।’ 

स्कुले जीवनमा कसैलाई एकतर्फी मन पराए, जसलाई कहिल्यै भन्न सकेनन्। उनको प्रेम नाटकतिर मोडियो, जसलाई उनले नाटकमा कताकता घुसाए ।

जीवन ड्रामामा बढी भेट्छन् । तर, दुवै जीवनमा मजा लिन पनि लिइरहेका छन्। उनी भन्छन्, ‘ड्रामाजस्तो कसैको लाइफ नहोस् तर जीवन ड्रामामा बाँच्न मजा लाग्छ।’

संघर्षै गरिनँ

नेपाली नाटक दुनियाँका एक हस्ति, जसले सानैदेखि ड्रामाकै सिँढी उक्लिरहे। र, आफूलाई स्थापित गरे। यहाँसम्म उनी आफ्नै लगाव र मिहिनेतले पुगेका हुन्। भन्छन्, ‘साँच्चै मैले कहिल्यै संघर्ष गरिनँ। केवल आफ्नो रोजाइको चिज पाउन मिहिनेत गरेको हुँ।’

आफूलाई मन परेको काम गर्नु सुखद् देख्छन् उनी। त्यसलाई उनी संघर्षको पर्याय दिँदैनन्। मासिक ६ सय रुपैयाँमा ०४० तिर उनले नाचघरमा जागिर खाए। जागिर आफ्नो लगावले पाएको ठम्याइ छ। उनी भन्छन्, ‘इमानदार र कामप्रति लगाव हुनेहरूले संघर्ष गरिरहनु पर्दैन, केवल काममा मन लगाए हुन्छ।’

अहिले पनि उनी ‘आर्टिस्ट डाइरेक्टर’ भएर राष्ट्रिय नाचघरमा भेटिन्छन्। उनले संघर्षको नाममा गर्नुपर्ने हथकण्डा गरेनन्। बरू उनले मिहिनेत गरे । र, नाचघरमा जागिर खुलेपछि आवेदन दिए। जागिरे पनि भए। त्यसैले उनले आफूले संघर्ष गरेझैं ठान्दैनन्। उनी भन्छन्, ‘गुड एक्टर बन्न भने मैले ३० वर्ष लगाएँ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।