काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको ६४ औं खेल रेलिगेसन ब्याटल भन्नका लागि लायक रह्यो। खेलको पहिलो हाफमा ३–१ गोलको अग्रता निश्चित गरेको फ्रेन्ड्सले ब्रिगेड बोइज क्लब (बीबीसी)माथि ५–२ को जित निकालेको छ। आजको जितसँगै ६ अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन क्षेत्र पनि छोडेको छ। लिगको नौ खेलसम्म जित निकाल्न नसकेको फ्रेन्ड्सले शुक्रबार लिगमा पहिलो जित निकालेको हो। र, अहिले च्यासल तालिकाको पुछारमा छ भने ब्रिगेड बोइज तालिकाको १३ औं स्थानमा झरेको छ।
आजको खेल फ्रेन्ड्स क्लबका लागि ‘कोभिड खोप’ सावित भएको प्रशिक्षक मृगेन्द्र मिश्रले बताए।। खेलपछि उनले भने, ‘आजको खेल डु अर डाइ थियो। आज हारेको भए सकिन्थ्यो। आजको खेल कोभिडको पहिलो डोज हो, दोस्रो र बुस्टर डोज बाँकी छ।’
फ्रेन्ड्सको जितमा नाथनल गर्सिया र सुशील साहले २–२ गोल गरे भने श्याम बाबु क्याप्छकीले एक गोल गरे। यता बीबीसीका अनिल गुरुङ र ड्याडी जुनियर वाम्बाले गोल गरेका थिए। ‘ओभरअल हेर्दा बीबीसीको सबैभन्दा नराम्रो खेल भएको मैले अनुभव गरें। पुछारमा रहेको फ्रेन्ड्ससँग हामी हार्यौं। हामी अब रेड जोनमा नै पुग्यौं,’ हारसँगै रेलिगेसनको रेड जोनमा प्रवेश गरेको बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले भने।
औसत रुपमा सुरु भएको खेलमा १४ औं मिनेटमा फ्रेन्ड्सबाट डेब्यु गरेका खेलाडी सुशील शाहले गोल गरेका थिए। उनले फ्रि किकमार्फत् पहिलो बारतर्फ प्रहार गर्दै गोल गरेका थिए। यससँगै खेलमा फ्रेन्ड्सले अग्रता बनाएको थियो।
तर उसले त्यो अग्रता २५ औं मिनेटमै गुमाउन पुग्यो। फ्रि किकमार्फत् नै ड्याडी जुनियर वाम्बाले गोल गरेका थिए। उनले फ्रेन्ड्सका खेलाडीले बनाएको ह्ुमन वालको साइडबाट दोस्रो बारतर्फ गोल गरेका थिए।
आजको जितसँगै ६ अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन क्षेत्र पनि छोडेको छ। लिगको नौ खेलसम्म जित निकाल्न नसकेको फ्रेन्ड्सले शुक्रबार लिगमा पहिलो जित निकालेको हो।
पहिलो हाफमै फ्रेन्ड्सले अग्रता बनायो। २७ औं मिनेटमा काउन्टर अट्याकको प्रयासमा रन्दीप पौडेलले नाथनल जुड्स गर्सिया मैदानमा लडेपछि विकास थापाको पासमा श्याम बाबु क्याप्छकीले गोल गरेका थिए। यो गोलले फ्रेन्ड्सलाई २–१ गोलको अग्रतामा पुर्याएको थियो।
त्यो अग्रताको समयमै मैदानमा बीबीसीका खेलाडीले सो गोलको अफसाइड अपिल गरेका थिए। गोल हुनुअघि नै मैदान बाहिरबाट हात उठाएका रजत तिवारीले क्याप्छकी अफसाइड रहेको अपिल गरेका थिए। बीबीसीका प्रशिक्षक टोलीले पनि रेफ्री प्रज्वल क्षेत्री र विक्रम चौधरीसँग अफसाइड रहेको भन्दै आक्रोश व्यक्त गरेका थिए। पछि रजतले रेड कार्ड पाए भने सहायक प्रशिक्षक समिर विष्टले पहेँलो कार्डको सजाय पाएका थिए।
‘त्यो बेलामा हामीले हेर्दा त क्लियर अफसाइड छ। थ्री भर्सेस वानमा त्यो अफसाइड भएको हो,’ सनोजले भने, ‘पहिलो हाफ त खत्तम नै भइहाल्यो। दोस्रो हाफमा पनि तीन बल बिममा लागेर फर्कियो। आजको प्रदर्शनले त खेलको कन्सिस्टेन्सी नै ब्रकडाउन भयो।’ पहिलो हाफको इन्ज्युरी समयमा फ्रेन्ड्सले अग्रतालाई ३–० गोलमा पुर्यायो। जमोल एन्थोनीले हेडरमार्फत् गोल गरेका थिए। इन्ज्युरी समयमै बीबीसीका भुवन बस्नेतले प्रहार गरेको शक्तिशाली प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले मुश्किलले बचाएपछि आधा खेल सकिएको थियो।
दोस्रो हाफमा पनि औसत रुपमा खेल सुरु भयो। त्यसै क्रममा बीबीसीका रोशन राना मगरले गरेको प्रहार भने गोलकिपर यादवले बचाए। खेलको ५३ औैं मिनेटमा फ्रि किकमा शिशिर लेखीले गरेको प्रहारमा बट्रेन्डर इबोडे ओट्टूले हेडरको प्रयास गरे पनि बल पोस्टको नजिकैबाट बाहिरिएको थियो। खेलको ५७ औं मिनेटमा रुडी जोनाथनको क्रसमा अनिल गुरुङले पोस्टको नजिकैबाट पनि गोल गर्न सकेनन्। अनिलको रिबाउन्ड प्रहार पोस्टबाट बाहिरिएको थियो।
खेलको ६४ औं मिनेटमा बीबीसीले अर्को फ्रि किक पाएको थियो। शिशिरले प्रहार गरेको फ्रि किकलाई गोलकिपर यादवले सेभ गरेका थिए। यादवबाट फुत्किएको बल पोस्टको कुनामा लागेर मैदानमै फर्किएको थियो। ६९ औं मिनेटमा दोर्जे तामाङको फ्रि किक पनि यादवले पोस्टबाहिर पठाइदिएका थिए। त्यस्तै, ७० औं मिनेटमा रोशले प्रहार गरेको बल यादवले बचाए।
यता फ्रेन्ड्सले ७६ औं मिनेटमा प्रिजेनले दिएको पासमा नाथनल गर्सियाले गोल गरे। उनले खेलमा दोस्रो गोल गर्दै अग्रतालाई ४–१ गोलअन्तरमा पुर्याएका थिए। त्यसपछि खेलको ७८ औं मिनेटमा सुशीलले गोल गरे। उनको गोलसँगै फ्रेन्ड्सले ५–१ गोलको अग्रता बनाएको थियो। यसपटक पनि प्रिजेनले पास उपलब्ध गराएका थिए।
‘विकास र सुशील राम्रा खेलाडी हुन्। आज हारेको भए रेलिगेसनमा पर्थ्यौं। हामीले दुई लिड गरेको खेल हारेका छौँ। एउटा लिड गरेको चाहिँ बराबरी भयो,’ प्रशिक्षक मिश्रले भने।
यता, ८५ औं मिनेटमा बीबीसीले पेनाल्टीको अवसर पाएको थियो। अनिलले प्रहार गरेको पेनाल्टी पोस्ट छिर्दै गोल भएको थियो। उनले ए डिभिजन लिगमा २०७० फागुन १७ गतेपछि पहिलो पटक गोल गरेका हुन्। अनिलले त्यो दिन ए डिभिजन लिगमा थ्रीस्टारविरुद्ध गोल गरेका थिए। लिगमा ५० भन्दा धेरै गोल गरिसकेका अनिलले त्यसपछि गोल गरेका थिएनन्। उनको गोलपछि खेलको नतिजा ५–२ भएको थियो।
‘विकास र सुशील राम्रा खेलाडी हुन्। आज हारेको भए रेलिगेसनमा पर्थ्यौं। हामीले दुई लिड गरेको खेल हारेका छौँ। एउटा लिड गरेको चाहिँ बराबरी भयो,’ प्रशिक्षक मिश्रले भने।
ठूलो गोल अन्तरले हारेपछि बीबीसीका प्रशिक्षक श्रेष्ठले बाँकी खेलमा जित निकाल्ने बताए। उनको लक्ष्य अब च्यासल क्लबलाई हराउने लक्ष्य रहेको छ। ‘अब च्यासलसँग छ खेल। आज जितेको भए सजिलो हुन्थ्यो। हामी अब पाइपमा अड्किएको अवस्था जस्तो भएको छ। तर अर्को खेल जित्ने तयारीका साथ आउनेछौं। पुछारमा रहेका टिम सबैलाई गाह्रो नै छ,’ उनले भने।
फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले अर्को खेलमा जावलाखेललाई त्यसपछि च्यासललाई हाउन सके मात्र अब रेलिगेसनबाट पूर्ण रुपमा बचिने बताए। उनले भने, ‘कोभिडको एक डोज खोपचाहिँ यो जित हो। अब दोस्रो र बुस्टर डोज भनेको दुई खेलमा जित निकाल्न होु। अब जावलाखेलसँग पनि जित निकाल्नैपर्ने छ। त्यसपछि च्यासलको टिमसँग छ। दुई खेल जित्नैपर्छ।’ अहिले खेलाडीलाई मोटिभेसन दिनका लागि फ्रेन्ड्स क्लबले हप्ताको तीन दिन होटलमा राख्ने व्यवस्था गरेको छ। त्यसले खेलाडीलाई मोटिभेसन दिएको उनी बताउँछन्।