काठमाडौं– दूध बिक्री गर्ने निजी डेरीले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन्।
शुक्रबार नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरिएको जानकारी दिएका छन्।
सरकारी स्वामित्वको डीडीसीले भने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ। यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो। अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।
डीडीसीले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने पनि निजी क्षेत्रले बताएको छ। पत्रकार सम्मेलनमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डीडीसीले आफैं सम्मिलित भएर गरेको निर्णयलाई लत्याएको भन्दै अब नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए। उनले अबका दिनमा आफूहरु दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानरुलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने अनि उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए।
डेरी व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढे पनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताए। उनले संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको बताए।
अर्का व्यवसायी अरनिको राजभण्डारीले दुग्ध विकास संस्थानको निर्णय अव्यवहारिक भएको र यसकै कारण किसान फस्टाउन नसकेको बताए। उनले अब निजी क्षेत्रले यसको नेतृत्व गरेर अघि बढ्ने र किसानलाई उचित मूल्य दिने बताए।