काठमाडौं– नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताएका छन्। सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन्।
शुक्रबार वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौती रहेको बताए। उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन्। त्यसैले एमसीसीमा क्लारिफिकेसन चाहिन्छ। कतिपय कुरा मिलाउनुपर्ने छ। जनमत एमसीसीको विरुद्धमा छ। जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ? यो पनि एउटा ठूलो चुनौती छ।’
एमसीसीबारे गहन छलफल गर्न अझै समय लाग्ने भएकोले तत्कालै संसद्मा टेबुल गर्न नहुने उनको भनाइ थियो। नेपालले भने, ‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो। गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो। एमसीसीबारे भए–नभएको प्रचार भइरहेको छ। हामी यसको अध्ययन गरिरहेका छौं। अन्तिम निष्कर्षमा पुग्न बाँकी छ। आँखा चिम्लेर समर्थन गर्ने कुरा हुँदैन।’
एमसीसीबारे गुण र दोषको आधारमा, तथ्यको आधारमा निष्कर्षमा पुग्न चाहेको बताउँदै उनले एमसीसीबारे ७ प्रश्न वटा कुरामा स्पष्ट हुनुपर्ने बताए। एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग हो कि होइन, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन, सैन्य संलग्नता छ कि छैन, ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन आदिबारे स्पष्ट नभएको उनले बताए।
त्यसैगरी निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन, त्यसको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन आदिबारे पनि स्पष्ट हुनुपर्ने नेपादलको भनाइ छ। नेपालले भने, ‘आफूखुशी नयाँ–नयाँ कानुन बनाउँदै जाँदा नेपालको हितमा असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सकिन्नँ।’