काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणका खेल शुक्रबारबाट सुरु हुँदैछन्। १०औं चरणको पहिलो दिन दुई खेल हुनेछन्। दिउँसो १ बजे दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड बोइज क्लब(बीबीसी) सँग खेल्नेछ।
ब्रिगेड बोइज क्लबका सहायक प्रशिक्षक समीर विष्ट फ्रेन्ड्विरुद्धको खेललाई निकै महत्त्वपूर्ण मान्छन्। ‘फ्रेन्ड्सविरुद्धको खेल फाइनलजस्तै हो। महत्त्वपूर्ण खेल भएकाले तयारी पनि राम्रो छ,’ उनले भने, ‘हामीलाई तयारीको लागि लामो समय थियो। टिममा धेरै पक्ष सुधार भएको छ। जितबाहेक अन्य विकल्प छैन। तर, विपक्षी पनि बलियो भएको छ।’
समीरले फ्रेन्ड्सलाई बलियो भने पनि लिगको सबैभन्दा कमजोर टिम फ्रेन्ड्स नै बनेको छ। ऊ अहिले लिग तालिकाको पुछारमा रहेको छ।
फ्रेन्ड्सले तीन अंक मात्र जोडेको छ। तर, उसले लिगमा केही न केही नयाँ भने गरिरहेको छ। ‘ उसले नयाँ अनुहार उतारिरहेको छ। यो खेलमा पनि होला। फ्रेन्ड्सको स्टाइल अफ प्ले राम्रो छ। हामीले अब लिगमा कसरी जाने भनेर टिम बनाएर प्लान बनाएका छौं,’ उनले भने।
बीबीसी अहिले ६ अंकका साथ १२औं स्थानमा छ। त्यसैले यो आजको खेल रेलिगेसन भिडन्त पनि हो। आजको खेलमा जित निकाल्न नसके आफू रेलिगेसन पर्ने अधिक सम्भावना रहने फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र बताउँछन्।
‘बीबीसीविरुद्धको खेल महत्त्वपूर्ण छ। जित निकाल्नका लागि नै खेल्ने हो। हाम्रो मनसाय त्यो नै हो। हार्यो भने त ९९ प्रतिशत रेलिगेसन हो,’ मिश्रले भने, ‘जसरी पनि जित्नुपर्ने छ। हाम्रो कप्तान चोट लागेर ठिक भएको छैन। एक दुई जना नयाँ छन्। यू १९ मा खेलिसकेका खेलाडी छन्। आज हामी जितका लागि खेल्ने हो।’
फेन्ड्सले सुरुमा खेलाडीलाई ब्रेकदिएर पछि १४ दिन अभ्यास गरेका थियो। त्यस्तै आजको दोस्रो खेलमा जावलाखेलले युवा क्लबले विभागीय क्लब त्रिभुवन आर्मीको सामना गर्दैछ। सो खेलमा दिउँसो पौने ५ बजे सुरु हुनेछ।
जावलाखेलका युवा क्लबका मुख्य प्रशिक्षक किशोर केसी आर्मी बलियो टिम भएकाले आज बराबरी खेल्न सके पनि जित भएको ठान्ने बताउँछन्। ‘आर्मी बलियो टिम हो। उविरुद्ध खेल्न हामीले ब्रेकमा राम्रो तयारी गर्यौँ। १० दिन भयो अभ्यास सुरु गरेको। अभ्यास ठिक छ। हामी आर्मीसँग राम्रो प्रतिस्पर्धा गर्छौँ,’ केसीले भने।
‘आर्मीको सिस्टम मुभमेन्ट भनेको ४-३-३ को हो ४-१-४-१ ले रोक्ने प्रयास गर्नेछौं,’ केसीले अन्तिममा भने। अहिले जावलाखेल आठ अंकका साथ १० औं स्थानमा छ। यता आर्मी भने अहिले पनि आफूभन्दा अघिका टिमले दुई खेलमा गल्ती गरे उछिन्ने दाउमा तालिकाको तेस्रो स्थानमा छ।
शीर्षस्थानको मछिन्द्रभन्दा छ अंकले पछि रहेको आर्मीको १९ अंक छ। ‘तयारी राम्रो छ। नवौं चरणको ब्रेकले खेलाडीमा इनर्जी बढेको छ। पोखरामा भएको आहा रारामा राम्रो गर्न सकेनौं। अहिले टिम लयमा फर्किएको छ,’ आर्मीका प्रशिक्षक राजु तामाङ भन्छन्, ‘घाइते खेलाडी सन्तोष तामाङको ठिक भएका छन्। रिहाब पनि भएको छ। दिनेश हेन्जनको चाहिँ ब्याक इन्ज्युरी भएको अपरेसन भएको छ। रेस्टमा छन्।’
‘जवालाखेल राम्रो हो। लिगको जर्नीमा उसले टफ फाइट दिइरहेको छ। विदेशी पनि राम्रा नै छन्। टिमवर्क पनि राम्रो रहेको छ। शीर्ष तीनमा पर्नका लागि महत्त्वपूर्ण खेल छ यो,’ तामाङले अन्तिममा भने, ‘लिग फिनिसिनको कुरा गर्दा अहिले हामी ६ अंकले पछि छौं। बाँकी खेलमा सत प्रतिशत निकाल्ने दाउमा छ। शीर्षका लागि अवसर चाहिँ अन्य टिमको प्रदर्शनमा भर पर्छ। अन्य टिम भन्नाले मनाङ र मछिन्द्र।’