काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापाको नेतृत्वमा दर्ता हुने दलका तीन एजेन्डा तय भएका छन्।
थापासहितको समूहले हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर दल दर्ताको तयारी तीव्र पारेको हो।
बिहीबार आफूनिकटका केही नेताहरूको भेलाले एजेन्डा तय गरेको हो। बैठकले थापालाई दल दर्ताको अधिकार सुम्पिएको छ।
दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको थापा निकट राप्रपाका एक पूर्वनेताले बताए। उनका अनुसार फागुनभित्रै आयोगमा थापा नेतृत्वमा दल दर्ता हुनेछ।
नयाँ दर्ता हुने दलको नाम र चुनावचिह्न भने तय भइसकेको छैन।
राप्रपा अध्यक्षमा हारेपछि थापाले नयाँ दल बनाउन लागेका हुन्। राप्रपा महाधिवेशनमा निर्मल निवासले आफूलाई हराएको आरोप लगाएका थिए।
यसअघि राप्रपा एकीकरणमा उनले श्रीमद्भगवद्गीताको कसम खाँदै पार्टी नफुटाउने घोषणा गरेका थिए। गीताको कसम खाएर त्यसमा प्रतिबद्ध नभएको भन्दै सामाजिक सञ्जालमा थापाको आलोचना भइरहेको छ।