काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि शुक्रबार दिउँसो २ बजे बस्नेगरी सकिएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन आदिबारे छलफल भएको छ। गठबन्धनको विषयमा भने केही छलफल नभएको उनले बताए।
महतले भने, ‘एमसीसीको बारेमा छलफल भयो। एमसीसी पारित गर्नुपर्छ। सभामुखको काम सरकारले पठाएका विधेयकहरु सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो। एमसीसी पनि रोक्न पाउनुहुन्न। प्रवेश नै नगराएपछि के हो के हो भन्ने अन्योल बढ्यो। त्यसैले यसलाई धेरै अन्योलमा राख्नुहुन्न, संसदमा छलफल गराउनुपर्छ।’
कार्यसम्पादन समिति सदस्य शशांक कोइरालाले पनि एमसीसीको बारेमा जनतामा गएर सम्झाउनुपर्ने बताए। उनले भने, ‘यो नेपालका लागि राम्रो हो। कुनै अमेरिकी सेना यहाँ आउने होइन। यो विद्युत र सडक विस्तारका लागि हो भन्ने कुरा भन्नुपर्छ।’
पदावधि सकिएका भ्रातृ संगठनको महाधिवेशनका सम्बन्धनमा पनि छलफल भएको तर टुंगोमा नपुगिएको नेता कोइरालाको भनाइ छ।