काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी पारित गर्ने विषयमा छलफल गरेको छ। बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा छलफल भएको कांग्रेस कार्यसम्पादन समिति सदस्य शशांक कोइरालाले जानकारी दिएका हुन्।
'एमसीसीको बारेमा जनतामा गएर सम्झाउने हो। यो नेपालका लागि राम्रो हो। कुनै अमेरिकी सेना यहाँ आउने होइन। यो विद्युत र सडक विस्तारका लागि हो भन्ने कुरा भन्नुपर्छ,' उनले भने, 'अब हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ भनेर मैले कुरा राखेँ। गठबन्धन नगरी निर्वाचनमा जानुपर्छ भन्ने मेरो भनाइ हो। यसमा धेरै सदस्यहरूले समर्थन जनाउनुभएको छ। एमसीसी पारित गर्नुपर्छ भनेर आजको मुख्य एजेन्डा थियो। गठबन्धन टुट्छ टुट्दैन भन्ने विषयमा छलफल भएन।'
पदावधि सकिएका भातृसंगठनको महाधिवेशनका सम्बन्धनमा पनि छलफल भएको तर टुंगोमा नपुगिएको नेता कोइरालाको भनाइ छ।