काठमाडौं– यही शुक्रबार र शनिबारका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन्।
केन्द्रीय कमिटी, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिन केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ। पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा सकस देखिएको छ। खासगरी महासचिव चयनमा समस्या देखिएको छ। महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको दाबी छ।
पुस तेस्रो साता आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय कमिटी बैठक विभिन्न कारणबाट सर्दै आएको छ।
महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो। पार्टी पदाधिकारीको टुंगो लगाउन गएको पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना संक्रमण देखिएपछि बैठक स्थगन भएको थियो। माघ ८ गते पनि बैठक बोलाएर स्थगित भएको थियो।
सत्ता गठबन्धनमा पेचिलो बनेको एमसीसीबारे पनि माओवादीले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने बताएको थियो। माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई स्थानीय निर्वाचनभन्दा पछि धकेल्न प्रस्ताव गरेका छन्। गठबन्धनमा सहमत िजुट्न नसक्दा एमसीसी संसदमा टेबुल हुन सकेको छैन। २६ माघका लागि बोलाइएको संसद् बैठक २ फागुनलाई सारिएको छ।