काठमाडौं– हालै सम्पन्न १४ औं महाधिवेशनमा सभापति लडेका कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक सक्रियता बढाएका छन्। स्थानीय तहको निर्वाचन घोषणा भइसकेको र अमेरिकी सहायता परियोजना एमसीसी पेचिलो बन्दै गएका बेला कोइरालाको सक्रियता बढेको हो।
मंगलबार साँझ उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई निवासमै गएर भेटे। दुई घण्टा लामो भेटमा केके विषयमा कस्तो कुराकानी भयो भन्ने विस्तृत रुपमा बाहिर आएको छैन।
दुई नेताबीच आगामी स्थानीय निर्वाचन, एमसीसी, संसद्मा जारी अवरोध लगायत विषयमा छलफल भएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिएका छन्। ‘त्यस्तो कुनै निचोड आउनेगरी छलफल भएको होइन, सामान्य रूपमा भएको छलफल हो,’ उनले भने।
माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन चुनावसम्म लम्ब्याउन जोड गरिरहेका बेला ‘कांग्रेस एक्लै लड्ने’ बताइरहेका कोइरालाको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ। एमाले अध्यक्ष ओली अहिलेको गठबन्धनप्रति बेखुस छन्। गठबन्धन तोड्ने हो भने एमसीसी पारित गर्न एमालेले सघाउने ‘अफर’ ओलीले प्रधानमन्त्री देउवालाई गरेको विषय पनि सार्वजनिक भइसकेको छ र ओलीले यसलाई अस्वीकार गरेका छैनन्।
ओलीसँग भेटेपछि कोइरालाले आफ्नो समूहको बैठकमा त्यसबारे ब्रिफिङ गरे र पार्टी सभापति शेरबहादुर देउवालाई पनि जानकारी गराए।
ओलीलाई भेटेको पर्सिपल्ट आज बिहीबार कोइरालाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। प्रचण्डको निवास खुमलटारमा करिब डेढ घण्टा दुई नेताबीच छलफल भएको थियो।
भेटमा प्रचण्डले कोइरालालाई अहिलेको गठबन्धन चुनावसम्म लैजाने विषयमा सहयोग गर्न आग्रह गरेको बताइएको छ। कांग्रेसभित्र शेखर समूह चुनावमा पार्टी कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने पक्षमा छ।
गठबन्धन गर्दा सबैलाई फाइदा भएको भन्दै प्रचण्डले कोइरालालाई चुनावी गठबन्धनको विरोध नगर्न आग्रह गरेका थिए। जवाफमा कोइरालाले गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुने बताएका थिए। उनको भनाइ थियो– चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन। यो कुरा विगतले पनि देखाइसकेको छ। गठबन्धन गर्दा माओवादी र कांग्रेस दुवैलाई फाइदा छैन। कोइरालाले प्रचण्डलाई एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा छिटो टुंगोमा पुग्न दाहालसँग आग्रह गरेका थिए।
हालैमात्र प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले एमसीसीलाई स्थानीय चुनावभन्दा पछि सार्न प्रस्ताव गरेका थिए। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी ओली पनि सहभागी थिए।
माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए। खुमलटार भेटका मुख्य एजेन्डा पनि एमसीसी, स्थानीय निर्वाचन र संसद् सञ्चालन नै थिए।
मंगलबार साँझ उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई निवासमै गएर भेटे। दुई घण्टा लामो भेटमा केके विषयमा कस्तो कुराकानी भयो भन्ने विस्तृत रुपमा बाहिर आएको छैन।
१४ औं महाधिवेशनबाट कांग्रेसमा बलियो शक्तिका रुपमा उदाएका कोइरालाले नवनिर्वाचित सभापतिलाई आफूखुसी नगर्न चेतावनी दिँदै आएका छन्। यो समूहले अब पार्टीमा भाग खोज्ने र पेल्न खोजे प्रतिवाद गर्ने रणनीति बनाएको छ। यी दुवै पदावली शेखर समूहले प्रयोग नगरे पनि त्यसको भाव भने यो भन्दा फरक छैन।
सभापतिका लागि भएको दोस्रो चरणको मतगणनामा देउवाले २७३३ मत ल्याएर विजयी हुँदा कोइरालाले १८५५ मत ल्याएका थिए। सभापति देउवाले नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आफू वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसमा आबद्ध सबैको सभापति भएको र सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर यसमा देउवाको बोली र व्यवहार फरक परेको शेखर समूहको बुझाइ छ।
शेखरसँग महामन्त्री गगन थापा र उपसभापति धनराज गुरुङ छन्। साथै मिनेन्द्र रिजाल र चन्द्र भण्डारीदेखि कमला पन्तजस्ता क्रियाशील र आशालाग्दा नामहरु छन्। त्योभन्दा पनि यो समूहसँग पार्टी परिवर्तनको एजेन्डा छ। सुस्त, गतिहीन र योजनाहिन कांग्रेसलाई सबैले देख्ने–सुन्ने कांग्रेस बनाउन सकिन्छ भन्ने आशा र योजना बोकेका नेताहरु समूहमा हुनु नै शेखरका लागि सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति हो।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेसमा वैकल्पिक शक्तिको खोजी भइरहेको अवस्थामा शेखर कोइराला उदाएको बताउँछन्। ‘कांग्रेसमा थुप्रै नेताले खुद्रा पसल थापेर आफूलाई वैकल्पिक शक्तिका रुपमा दाबी गरिरहेका थिए। यसरी पसल थाप्नेमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि थिए। उनीहरू आफूलाई शेरबहादुर देउवाको विकल्पका रूपमा उभ्याउन चाहन्थे। त्यसले मूर्त रुप लिन भने सकेको थिएन। कार्यकर्ताले पत्याएका थिएनन्,’ महाधिवेशन सम्पन्न भएको एक सातापछि नेपाल समयसँगको कुराकानीमा आचार्यले भनेका थिए।
कार्यकर्तासँग भिजेको, नयाँ विचार पेस गरेर झक्झकाइरहेको, गिरिजाप्रसाद कोइराला जस्तो सक्रिय, बौद्धिक, युवाको कुरालाई प्राथमिकतामा राखेका कारण देउवाको विकल्प कोइराला हुन सक्ने आचार्यको बुझाइ छ। ‘शेखरको टिमका उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। त्यसैले पनि उनलाई थप शक्तिशाली बनाएको छ। उनको भूमिकालाई फराकिलो बनाएको छ। ४० प्रतिशत मत थोरै हैन,’ आचार्यले भने।
१४ औं महाधिवेशनका आफ्ना निकटतम प्रतिपस्पर्धी कोइरालासँग सभापति देउवाले भने छलफल गरेका छैनन्। स्मरण रहोस्, कोइराला समूह चुनावी गठबन्धनको सख्त विरोधमा छ।