काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि छनोट प्रक्रिया सुरु भएको दुई महिना बितिसक्दा पनि टुंगो लाग्न सकेको छैन। प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको गत मंसिर २६ गते पदावधि सकिएको थियो। त्यसपछि पुस ७ मा प्रतिष्ठानको उपकुलपतिमा प्रतिस्पर्धा गर्नका लागि आवेदन खुला गरिएको थियो।
एक साताको म्याद राखी खुला गरिएको आवेदनमा १६ जनाले आवेदन दिएका थिए। सोही आवेदनलाई आधार मानेर प्रतिष्ठानको उपकुलपति पदमा नाम सिफारिस गर्न गठित सिफारिस समितिले ५ जनाको नाम छनोट सूचीमा पारेको थियो। प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको अध्यक्षतामा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल सदस्य रहेको समिति बनेको थियो। सोही समितिले पहिलो चरणमा मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा.डा. नारायण विक्रम थापा, मणिपाल अस्पतालका प्राध्यापक डा. प्रदीप घिमिरे शर्मा, सहिद गंगालाल हृदयरोग केन्द्रका प्रा.डा. रामेश कोइराला, न्याम्सका प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा. विकास लामिछानेलाई राखेको थियो।
उनीहरुमध्येबाट पनि समितिले ३ जनाको नाम सिफारिस गरेको छ– ऋषिकेशनारायण श्रेष्ठ, नारायणविक्रम थापा र रामेश कोइराला। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयबाट फाइल अघि बढिसकेको छ। मन्त्रालयबाट कुलपतिसमक्ष सिफारिस गरिएको नामको सूची गएको एक हप्ता भइसकेको छ। सिफारिस भएका तीन नामबाट एक जनालाई प्रतिष्ठानका कुलपति अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नेछन्।
सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेर कुलपति समक्ष फाइल पुगेको एक साता भइसकेको छ। स्रोतका अनुसार पहिलो नम्बरमा ऋषिकेश, दोस्रोमा कोइराला र तेस्रोमा नारायणविक्रम छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेकपा (एस)का केही नेता ऋषिकेशनारायण श्रेष्ठलाई उपकुलपति बनाउन लागिपरेका छन्। दोस्रो नम्बरमा रहेका डा. रामेश कोइराला नेपाली कांग्रेसका दुवै जना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकट मानिन्छन्।
गगन थापा स्वास्थ्यमन्त्री हुँदा डा. रामेश अवैतनिक सल्लाहकार थिए। त्यसैले गगनको 'इन्ट्रेस्ट' कोइरालाप्रति भएको बताइन्छ। नारायणविक्रम थापा शेखर कोइराला निकट मानिन्छन्। नेपाली कांग्रेसको गत महाधिवेशनमा कोइराला प्यानलबाट गगन थापा महामन्त्रीमा विजयी भएको र महाधिवेशनपछि पनि दुवै नेताहरू एकै समूहमा रहेकाले नारायणविक्रमलाई नै बनाउन गगनलाई दबाब परेको कतिपयको बुझाइ छ। तर यो विषयमा गगन आफैँ भने प्रष्ट पार्न चाहँदैनन्।
'नारायणविक्रम थापा पनि गगन थापासँग नजिक नै हुनुहुन्छ। तर नारायणविक्रमभन्दा पनि डा. रामेश कोइराला गगन थापाको निकट मानिनुहुन्छ। गगन थापा स्वास्थ्यमन्त्री हुँदा डा रामेशले सहयोग गर्नुभएको पनि थियो। त्यसैको गुन सम्झिएर पनि निर्णय गर्नुपर्ने अन्तिम अवस्थामा उहाँ (गगन थापा)ले डा. रामेशलाई समर्थन गर्न सक्नुहुन्छ,' स्रोत भन्छ।
सिफारिस भएका तीनै जनाले आफूलाई नियुक्त गर्न लबिङ तीव्र पारेका छन्। यसरी कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई चौतर्फी दबाब परेपछि सिफारिस भएको एक सातासम्म पनि प्रधानमन्त्रीले राप्ती प्रतिष्ठानमा उपकुलपतिको टुंगो लगाउन सकेका छैनन्।
‘कुलपतिलाई अब उपकुलपति छान्न निकै सकस भएको छ। एक हप्तादेखि पुगेको सूचीलाई अझै टुंगोमा पुर्याउन नसक्नुमा उनलाई विभिन्न पक्षबाट दबाब परेको छ। तीनैजनालाई भिन्नभिन्न तवरबाट बलियो दबाब कुलपतिसमक्ष पुगेको छ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारीको बुझाइ छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयबाट फाइल अघि बढिसकेको छ। मन्त्रालयबाट कुलपतिसमक्ष सिफारिस गरिएको नामको सूची गएको एक हप्ता भइसकेको छ।
डा रामेश कोइराला मुटुरोग विशेषज्ञ हुन्। उनी कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाप्रति क्रिटिकल छन्। ट्विटरमा निकै सक्रिय कोइरालाले यसअघि देउवाका विरोधमा धेरै लेखेका थिए। तीनजनाको सूचीमा परेर पनि देउवा उनीप्रति सकारात्मक नहुनुलाई यो एउटा कारण मानिन्छ। बालुवाटार स्रोतका अनुसार डा रामेशप्रति प्रधानमन्त्री भन्दा पनि प्रधानमन्त्रीपत्नीको असन्तुष्टि छ। ‘डा रामेशप्रति देउवा त बरु धेरै नकारात्मक छैनन्, तर पत्नी आरजुको चलखेल छ। ठूला नियुक्तिहरुमा आरजुको हात माथि हुने गरेको छ,’ बालुवाटार स्रोत भन्छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए– संगीता भण्डारी, जितनारायण यादव, विश्वनाथ यादव, विकास लामिछाने, पवनजंग रायमाझी, प्रदीप घिमिरे शर्मा, लुमेश्वर आचार्य, राजेन्द्रराज वाग्ले, रामेश कोइराला, रेवतीरमण मल्ल, नारायणविक्रम थापा, प्रवीण श्रेष्ठ, लक्ष्मीनारायण सिंह, सञ्जयकुमार ठाकुर, ऋषिकेशनारायण श्रेष्ठ र प्रमोद रेग्मी। प्रतिष्ठानको कार्यविधि २०७८ अनुसार उपकुलपति हुन मान्यताप्राप्त शैक्षिक संस्थाबाट चिकित्साशास्त्रमा कम्तिमा स्नातकोत्तर गरेको, कम्तिमा प्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा एघारौं तह वा सो सरहको पदमा काम गरेको व्यक्ति योग्य हुन्छ।