काठमाडौं– त्रिभुवन विश्वविद्यलायले कोभिड–१९ को ओमिक्रोन संक्रमणका कारण रोकिएका परीक्षा फागुन १ गतेदेखि गर्ने निर्णय गरेको छ। महामारीका कारण हुँदै आएको अनलाइन कक्षा सञ्चालन पनि सम्भव भएसम्म सञ्चालन गर्न विश्वविद्यालयको कार्यकारी परिषद्ले क्याम्पसहरुलाई निर्देशन दिएको छ।
त्रिवि रजिस्ट्रारको कार्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ, ‘विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी फागुन १ गतेदेखि हाल स्थगित परीक्षहरु सञ्चालनको व्यवस्था गर्न एवम् सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न सूचना प्रकाशित गरिएको छ।’ विश्वविद्यालयले जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सतर्कता अपनाउन पनि निर्देशन दिएको छ।