काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेता शेखर कोइरालालाई सत्ता गठबन्धन चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका छन्। दाहाललाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका कोइरालासँग उनले यस्तो आग्रह गरेका हुन्।
कोइराला र प्रचण्डबीच बिहीबार बिहान डेढ घण्टासम्म समसामयिक राजनीतिक विषयमा कुराकानी भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेताहरुबीच एमसीसी सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो।
‘सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन पनि गरौं भनेर छलफल भइरहेको छ। हामीहरूबीच गठबन्धन गर्दा सबैलाई फाइदा छ। तपाईं निर्णय गर्ने ठाउँमा हुनुहुन्न। तर, निर्णय प्रभावित गर्ने ठाउँमा हुनुहुन्छ,’ दाहालको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘गठबन्धन गरौं। तपाईंले चुनावी गठबन्धनको विरोध नगरिदिनुस्।’
नेता कोइरालाले भने गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुने बताएका थिए। कोइरालाले भनेका थिए, ‘ चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो। कांग्रेसले तपाईंलाई भोट हाल्छन्। तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन्। बरु एमालेतिरै लाग्छन्। त्यसैले गठबन्धन गर्दा तपाईंलाई र कांग्रेस दुवैलाई फाइदा छैन।’
नेता कोइरालाले एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्याउन दाहालसँग आग्रह गरेका थिए।
अध्यक्ष दाहालले चुनावअघि एमसीसी पास गर्न नसकिने बताएका थिए। उनले भनेका थिए, ‘एमसीसीबारे हामी छलफलमै छौँ। तर, चुनावअघि एमसीसी पास गर्न सकिँदैन। मैले प्रधानमन्त्रीजीसँग अनुरोध गरिरहेको छु, यसलाई अझै समय लिएर छलफल गरेरमात्रै टुंगोमा पुर्याउन सकिन्छ।’