काठमाडौं- नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति २९ दशमलव एक प्रतिशत भएको छ। पेस्कीसमेत गरी आर्थिक प्रगति भने ४४ प्रतिशत रहेको आयोजनाले जानकारी दिएको छ।
हालसम्म मुख्य सुरुङ निर्माणको ३३ दशमलव दुई प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव ९ प्रतिशत सकिएको छ।
आयोजनाको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुङ्गा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास गरिन्। सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको उनको भनाइ थियो।
सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उनले बताइन्। 'आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि लागिनेछ,' उनको भनाइ छ।
नागढुङ्गा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको जानकारी गराएका थिए। विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुङ्गो नलागेकाले निर्माणमा बाधा पुगेको उनको भनाइ थियो।
मन्त्री यादवसँगै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटलगायत निर्माणस्थल पुगेका थिए।