काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ। प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिई गतिशील बनाउने विषयमा पनि सो बैठकमा छलफल हुने बताए।
‘स्थानीय निर्वाचनमा हामी कसरी सशक्त रुपमा प्रस्तुत हुने? कसरी पार्टीलाई परिचालन गर्ने ? र यो १६ जिल्लाको अधिवेशन जुन स्थगित भएको छ । खासगरी कोभिडको कारणले पनि फेरि सर्यो,' उनले थपे, 'त्यसलाई कसरी अघि बढाउने? र, सँगसँगै यो भातृ–शुभेच्छुक संस्थाहरुलाई कसरी गति दिने, पूर्णता दिने भन्ने विषयमा कार्य सम्पादन छलफल गरी निर्णयमा पुग्ने समझदारी भएको छ।'
नेपाली कांग्रेसको हिजो बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो।