बुधबार, भदौ ३, २०८३

कमल थापाले छाडे पनि पार्टीलाई कुनै असर पर्दैन : राजेन्द्र लिङ्देन

निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने उनले बताएका हुन्। राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताएका छन्। निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने उनले बताएका हुन्। राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ छ। 

‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन,' न्युज एजेन्सीसँग कुराकानी गर्दै उनले भने, 'हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ।’

उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे। पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्ने विश्वास व्यक्त गरेका थिए। 

‘हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौँ। मलाई के विश्वास छ भने यो छोड्ने क्रममा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नु हुने छैन,' उनले भने, 'अहिले भूमिकाविहीन रहेका केही साथीहरुले यसप्रकारको निर्णय गरेको सुन्नमा आएको छ। अरु साथीहरुलाई पनि हामी आग्रह गर्छौ, उहाँहरुलाई पनि आग्रह गर्छौ, र आम हाम्रा नेता, कार्यकर्ता र शुभेच्छुक साथीहरुलाई आव्हान गर्छौ कि यो घटनाबाट कसैले पनि विचलित हुनुपर्दैन। राप्रपा अझ दृढ, अझ सशक्त ढंगले अगाडी बढ्छ। र यसलाई हामीले शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्छौँ।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह समेत गरे। थापाको निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै लिङ्देनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरेका थिए। 

‘हामीले औपचारिक रुपमै भनेका छौँ यो निर्णयबाट हामी दुखित छौँ। यो निर्णय सच्याउन, यो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्छौ भनेर भनेका छौँ। अहिले पनि यो सञ्चार माध्यममार्फत् पनि उहाँलाई आग्रह गर्न चाहान्छु, उहाँ स्वयम्को राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ। राम्रो हुन्छ। फलदायी हुन्छ र राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ।’

निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उहाँले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गरे। छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भएपनि थापाले पार्टी छोडेको उनको भनाइ छ। 

‘पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्ने व्यक्तिगत निर्णय जुन गर्नुभो त्यो अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा हामीले लिएका छौँ। पार्टीको पदाधिकारी बैठकले पनि आधिकारिक रुपमा त्यही धारणा बनाएको छ। हामीले सकारात्मक रुपमा कुराकानी गरेका थियौँ,' उनले भने, 'बीचमा जुन प्रकारको ग्याप भएपनि हामीले भेटघाट, कुराकानी गरेपछि एउटा समझदारी पनि बन्यो कि हामी अब सँगै काम गर्ने, त्यसका लागि फेस सेभिङका केही उपायहरु निकाल्ने भनेर हामी टुंगोमा पुगेर त्यसको अन्तिम चरणमा थियौँ। र पदाधिकारी बैठक समेत बोलाइसकेका थियौँ। भोली पदाधिकारी बैठक छ। त्यसले निर्णय गरेर हामी अगाडी जाने भनेर। त्यो कुराको सूचना समेत उहाँलाई हामीले दिइसकेका थियौँ र हाम्रो उपाध्यक्ष बुद्धिमान तामाङले उहाँलाई बिहान त्यस विषयमा जानकारी पनि गराइसक्नुभएको थियो। संकेत दिइसक्नु भएको थियो। हामीले यो ढंगले यो समस्यालाई सम्बोधन गर्न लागेका छौँ भनेर सन्देश पनि दिइसकेपछि उहाँले जुन अप्रत्याशित यो निर्णय लिनुभयो हामी आफैँ अचम्भित छौँ।’

प्रकाशित: Feb 09, 2022| 19:06 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...